Logo

खेलकुद

नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय आइस स्केटिङ प्रतियोगितामा सहभागिता जनाउने



काठमाडौं। नेपालले इतिहासमै पहिलोपटक अन्तर्राष्ट्रियस्तरको आइस स्केटिङ प्रतियोगितामा सहभागिता जनाउने भएको छ। भारतीय आइस स्केटिङ संघको आयोजना तथा एसियाली आइस स्केटिङ महासंघ र अन्तर्राष्ट्रिय स्केटिङ महासंघको सहकार्यमा हुने सर्ट ट्रयाक स्पिड आइस स्केटिङ प्रतियोगितामा नेपालका छ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनालका अनुसार प्रतियोगिता यही पुस १२ देखि १४ गतेसम्म भारतको देहरादुनस्थित महाराना प्रताप स्पोर्ट्स कम्प्लेक्सअन्तर्गत रहेको हिमाद्री अन्तर्राष्ट्रिय आइस स्केटिङ रिंक सेन्टरमा आयोजना हुनेछ।

प्रतियोगितामा नेपालबाट सिनियर पुरुष १,००० मिटर विधामा रमेश मोक्तान र अरुण खत्वे सहभागी हुनेछन्। जुनियर महिलातर्फ ५०० मिटरमा परी गुरागाईं र अल्का घिमिरे तथा जुनियर पुरुष २५० मिटरमा जेभियर जंग थापा र सायोन अर्यालले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ। टिम म्यानेजरको रूपमा सञ्जु श्रेष्ठ र अफिसियलका रूपमा संघका महासचिव सत्य थापा सहभागी हुनेछन्।

प्रतियोगितामा सहभागी हुन लागेको नेपाली टोलीलाई बिदाइ गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय आइस स्केटिङमा नेपालको पहिलो सहभागिता ऐतिहासिक भएको बताए। उनले शीतकालीन ओलम्पिक खेलअन्तर्गत पर्ने आइस स्केटिङ नेपालको भूगोलअनुकूल खेल भएकाले भविष्यमा यस खेलबाट नेपालले पदक जित्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  १२ : २९ बजे