Logo

विश्व

कर्नाटक बस–ट्रक दुर्घटनामा ११ जनाको मृत्यु, २४ घाइते



काठमाडौं। भारतको कर्नाटक राज्यको चित्रदुर्ग जिल्लामा बुधबार राति भएको बस दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।

भारतको नेसनल हाइवे–४८ मा बुधबार राति करिब २ बजे बेंगलुरुबाट गोकर्णतर्फ जाँदै गरेको स्लिपर कोच बस विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएपछि बसमा आगलागी भएको थियो। दुर्घटनाका बेला बसमा ३२ जना यात्रु सवार थिए।

चित्रदुर्ग जिल्लाका डिपुटी कमिश्नर (डीसी) ले बीबीसी हिन्दीलाई दिएको जानकारीअनुसार हालसम्म ११ शवको पहिचान भइसकेको छ। दुर्घटनामा घाइते भएका सबैलाई नजिकका अस्पतालमा भर्ना गरिएको छ।

यसैबीच, तमिलनाडुको त्रिची–चेन्नई नेसनल हाइवेमा बुधबार राति अर्को सडक दुर्घटना भएको छ। त्रिचीबाट चेन्नईतर्फ जाँदै गरेको सरकारी बसको अगाडिको टायर फुटेपछि बस दुईवटा कारसँग ठोक्किएको जनाइएको छ।

तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले उक्त दुर्घटनामा ज्यान गुमाएकाप्रति शोक व्यक्त गर्दै मुख्यमन्त्री सार्वजनिक राहत कोषबाट मृतकका परिवारलाई जनही तीन लाख भारतीय रुपैयाँ तथा गम्भीर घाइतेलाई एक–एक लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन्।

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  १२ : २४ बजे