Logo

मुख्य समाचार

कस्मेटिका २०२५ : नेपालको सौन्दर्य, वेलनेस र कस्मेटिक्स बजारमा नयाँ उत्सव



काठमाडौं । नेपालमा कस्मेटिक, सौन्दर्य र वेलनेस उद्योग तीव्र रूपमा विस्तार हुँदै गएसँगै व्यवसायी, ब्रान्ड र सेवाप्रदायकलाई एउटै प्लेटफर्ममा जोड्ने उद्देश्यका साथ ‘कस्मेटिका २०२५’ आयोजना हुने भएको छ । नेपालमै पहिलो र एकमात्र वृहत ट्रेड शोका रूपमा परिचित यस एक्स्पो डिसेम्बर २६ देखि २८ (पौष ११–१३) काठमाडौँको नक्सालस्थित अम्रपाली ब्याङ्क्वेट सेन्टरमा सञ्चालन हुने आयोजकले जनाएका छन् ।

हाउस अफ राजकर्निकारद्वारा आयोजना हुन लागेको उक्त कार्यक्रममा नेपाल कस्मेटिक्स बिजनेस एसोसिएसन र ब्यूटिसियन प्रोफेशनल एसोसिएसन अफ नेपालले सहयोग गर्नेछन् । कार्यक्रमको मिडिया पार्टनर वाव म्यागजिन, आईएसपी पार्टनर वेवसर्फÞर र प्रिन्ट पार्टनर सागर आर्ट सर्भिस रहेका छन् ।

कस्मेटिका २०२५ ले बी–टु–बी र बी–टु–सी दुवै वर्गलाई लक्षित गर्दै नयाँ उत्पादन, सेवा, प्रविधि र ट्रेन्ड सार्वजनिक गर्ने लक्ष्य राखेको छ। एक्स्पोमा स्वदेशी तथा विदेशी ब्रान्ड, स्किनकेयर र हेयरकेयर कम्पनी, पर्सनल केयर तथा वेलनेस ब्रान्ड, प्याकेजिङ कम्पनी, ब्यूटी स्कूल, प्लास्टिक सर्जरी क्लिनिक, हेयर इम्प्लान्ट क्लिनिक, डेन्टल क्लिनिक र कस्मेटिक क्लिनिकहरूको सहभागिता रहनेछ।

कार्यक्रम अवधिभर सौन्दर्य तथा वेलनेस क्षेत्रमा योगदान पुर्याएकाे महिलाहरूलाई सम्मान गर्ने ‘हल अफ फेम’, निःशुल्क ट्रायल, नयाँ ब्रान्ड लन्च, लाइभ मेकअप र हेयर डेमो, कार्यशाला, सेमिनार र विज्ञसँग प्रत्यक्ष परामर्शका कार्यक्रम समावेश छन् ।

पछिल्लो एक दशकमा नेपाली बजारमा कस्मेटिक्स तथा पर्सनल केयर उत्पादन र सेवाको माग तीव्र रूपमा बढेको छ । सामाजिक मूल्य, जीवनशैली र उपभोग संस्कृतिमा आएको परिवर्तनसँगै १६–३० वर्ष उमेर समूहका, शिक्षित र शहरी महिलाहरू प्रमुख उपभोक्ता बनेका छन्। काठमाडौँ उपत्यकामा कुल बिक्रीको करिब ६० प्रतिशत केन्द्रित छ भने महिलाले बजारको करिब ८० प्रतिशत हिस्सा ओगटेको देखिन्छ।

नेपालको कस्मेटिक्स र पर्सनल केयर बजार हाल करिब २३.६ अर्ब रुपैयाँको मूल्यमा पुगेको छ र २०२५ सम्म आयात २०.४ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण छ। भारत, चीन, थाइल्याण्ड, दक्षिण कोरिया, जापान, युरोपेली संघ र अमेरिकाबाट मुख्यतः आयात हुने यी उत्पादनको बजार वार्षिक २०–२५ प्रतिशत दरले बढिरहेको छ । कस्मेटिका २०२५ मार्फत उद्योगका नयाँ ट्रेन्ड, नविनतम प्रविधि र उपभोक्ताको रुचि बुझ्ने अवसर प्रदान हुने आयोजकले बताए।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  १० : ०१ बजे