Logo

राजनीति

सरकारले शान्ति सुरक्षा सुनिश्चित गरिसक्यो, निर्वाचनबारे शंका–उपशंका नगरौँ : निर्वाचन आयोग



काठमाडौं । निर्वाचन आयोगले सरकारले निर्वाचनका लागि शान्ति सुरक्षा सुनिश्चित गरिसकेको भन्दै निर्वाचनबारे शंका–उपशंका गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सोमबार आयोजित सर्वपक्षीय छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र भयरहित रूपमा सम्पन्न गर्ने दायित्व राजनीतिक दलहरूको पनि रहेको बताए ।
उनले प्रविधिको प्रयोगको नाममा समयमा निर्वाचन नगर्ने प्रयास नगर्न र त्यसको जिम्मेवारी निर्वाचन आयोगमाथि थोपर्ने चेष्टा स्वीकार्य नहुने चेतावनी दिए । सर्वोच्च अदालतका फैसलाबारे विभिन्न व्याख्या भइरहे पनि कसको कस्तो कानुनी जिम्मेवारी हो भन्ने विषयमा स्पष्ट छलफल नभएको उनले बताए ।
भण्डारीले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा सर्वोच्च अदालतको फैसलाअनुसार सरोकारवाला निकायहरूले आफ्नो कानुनी दायित्व पूरा नगरेको उल्लेख गरे । आयोगले ऐन बनाउन नसक्ने र संविधानबमोजिम बनेका ऐनअनुसार स्वायत्त रूपमा नियम बनाउने स्पष्ट पार्दै, निर्वाचन घोषणा भएपछि नियम परिवर्तन नगरिने बताए ।
उनले निर्वाचनसम्बन्धी १० कानुनमध्ये तीन संशोधन र सात खारेज गरी एकीकृत कानुन आवश्यक रहेको उल्लेख गर्दै निर्वाचन व्यवस्थापनसम्बन्धी ऐनको प्रस्ताव दुई वर्षअघि नै सरकारमा पठाइसकिएको जानकारी दिए ।
निर्वाचन आयोगको पद्धतिअनुसार राजनीतिक दल, सरकार, नागरिक समाजलगायत सरोकारवाला पक्षसँग छलफल गरी विधि, पद्धति र प्रविधिका आधारमा सामूहिक निर्णय गरेर निर्वाचन सम्पन्न गरिने आयोगको धारणा छ ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ७ : ४९ बजे