Logo

मुख्य समाचार

कांग्रेसद्वारा प्रधानमन्त्रीलाई शीर्ष नेतासँग तत्काल संवाद गर्न आग्रह



काठमाडौं। नेपाली कांग्रेसले तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग तत्काल छलफल गर्नुपर्ने माग गरेको छ।

सोमबार सिंहदरबारमा प्रधानमन्त्री कार्कीले बोलाएको निर्वाचनसम्बन्धी सर्वपक्षीय बैठकमा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले राजनीतिक दल र तिनका नेताहरूसँग संवाद नगरी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न नसकिने बताए। उनले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन प्रधानमन्त्रीले ढिलाइ नगरी शीर्ष नेताहरूसँग संवाद सुरु गर्नुपर्ने धारणा राखे।

यादवले निर्वाचनको लागि सुरक्षित वातावरण निर्माण गर्न सरकार गम्भीर हुनुपर्ने उल्लेख गरे। विगतमा नेपाली कांग्रेसको नेतृत्वमा सम्पन्न भएका निर्वाचन निष्पक्ष भएको दाबी गर्दै उनले वर्तमान सरकारले पनि निष्पक्ष निर्वाचन गराउने गरी काम गर्नुपर्ने बताए।

उनले सरकारले निर्वाचनको तयारीभन्दा अन्य विषयमा ध्यान केन्द्रित गरेको भन्दै आपत्ति जनाए। तोकिएकै मितिमा निर्वाचन नभए सरकारको वैधतामाथि प्रश्न उठ्ने चेतावनी दिँदै उनले यसतर्फ सरकार सचेत हुनुपर्ने बताए।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ४ : ४९ बजे