Logo

राजनीति

सागर ढकालले निर्वाचन प्रणालीमा सुधारको माग गर्दै आयोगलाई प्रश्न



काठमाडौं। अभियन्ता सागर ढकालले निर्वाचन गराउनु मात्र निर्वाचन आयोगको सफलता नहुने बताएका छन् । सोमबार सिंहदरबारमा आयोजित सर्वपक्षीय छलफलमा उनले विद्यमान अभ्यासलाई निरन्तरता दिन मात्र चुनाव गराउने औचित्य के हो भन्ने प्रश्न उठाएका छन् ।

ढकालले निर्वाचनलाई सार्थक बनाउन प्रणालीगत सुधार आवश्यक रहेको उल्लेख गर्दै विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार दिनु पर्ने, अन्तरजिल्ला मतदानको व्यवस्था, ‘नोट भोट’ प्रणालीलगायत ‘जेनजी’ (Gen Z) का मागहरू तत्काल सम्बोधन गर्न आग्रह गरे ।

उनले निर्वाचनसम्बन्धी नियम परिवर्तन गर्नुपर्ने विषयमा सर्वोच्च अदालतले सात–आठ वर्षअघि नै निर्देशन दिइसकेको भए पनि कार्यान्वयन हुन नसकेकोप्रति असन्तुष्टि जनाए । “अहिले पनि नगर्ने हो भने कहिले गर्ने ? सधैं बहाना मात्र बनाइरहन मिल्दैन,” उनले भने ।

ढकालले वर्तमान समयमा सुधार नगरे भविष्यमा सम्भव नहुने चेतावनी दिँदै जेनजी आन्दोलनको भावना अनुरूप अघि बढ्न सरकार पछि नहट्नुपर्ने बताए ।

उनका अनुसार निर्वाचन प्रणालीमा अर्थपूर्ण सुधार नगरी केवल चुनाव गराउनु लोकतन्त्र सुदृढीकरणका लागि पर्याप्त हुँदैन ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ४ : ३७ बजे