Logo

कर्पोरेट

ग्लोबल आइएमई बैंक र फ्लोरिकल्चर एसोसिएशन नेपालबीच हरितगृह कर्जामा सहकार्य



काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेड र फ्लोरिकल्चर एसोसिएशन नेपालबीच पुष्प खेती तथा आलंकारिक बाली उत्पादनमा हरितगृह प्रविधिको प्रयोग विस्तार गर्न सहज कर्जा प्रवाह गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको छ।

सम्झदारी पत्रमा ग्लोबल आइएमई बैंकका इन्फ्रास्टक्चर तथा प्रोजेक्ट फाइनान्सिङ प्रमुख अशीम कर्माचार्य र फ्लोरिकल्चर एसोसिएशन नेपालका अध्यक्ष राजेश भक्त श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार बैंकले पुष्प व्यवसायी तथा कृषकलाई लक्षित गरी विशेष हरितगृह कर्जा प्रवाह गर्नेछ। यस्तै, फ्लोरिकल्चर एसोसिएशन नेपालले आफ्ना सदस्यहरूलाई बैंकको कृषि कर्जा योजनाबारे जानकारी प्रदान गर्नेछ।

यस सहकार्यबाट पुष्प उत्पादन तथा उत्पादकत्व वृद्धि, हरितगृह प्रविधिको प्रवर्द्धन, गुणस्तरीय पूर्वाधार विकास र सेवा अभिवृद्धिमा सहयोग पुग्ने विश्वास गरिएको छ। साथै, जलवायु अनुकूलन अभ्यास, दिगो व्यवसाय र आधुनिक प्रविधि अपनाउन पुष्प व्यवसायी तथा कृषकहरूलाई उत्प्रेरित गर्ने अपेक्षा गरिएको छ।

बैंक र एसोसिएशनको सहकार्यले हरितगृह प्रविधिमा लगानी गर्न इच्छुक पुष्प व्यवसायी तथा उद्यमीहरूको वित्तीय पहुँच विस्तार हुनुका साथै फुल तथा आलंकारिक बोटबिरुवाको उत्पादनमा वृद्धि हुने बैंकले जनाएको छ।

ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ र बेष्ट इम्प्लोयरजस्ता अवार्डबाट सम्मानित भइसकेको छ।

बैंक ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। हाल बैंकका ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्र सञ्चालनमा छन्।

यसका साथै बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनलगायत देशहरूबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  २ : १९ बजे