हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफूले पाउने सेवा–सुविधाबाट प्राप्त रकम खर्च गरेर मकवानपुरको कैलाश गाउँपालिका–४ का एक अति विपन्न चेपाङ दम्पतीको घर निर्माण गरी हस्तान्तरण गरेका छन् ।
आज आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री बानियाँले धुसर बस्ने ५० वर्षीय लालकुमार चेपाङ र उनकी पत्नी सानुमाया चेपाङलाई नवनिर्मित घरको चाबी हस्तान्तरण गरेका हुन् ।
कैलाश गाउँपालिकाले अति विपन्न परिवारको रूपमा पहिचान गरी घर निर्माणका लागि सिफारिस गरेपछि मुख्यमन्त्री बानियाँको व्यक्तिगत पहलमा केही महिनाअघि घर निर्माण सुरु गरिएको थियो ।
करिब आठ लाख रुपैयाँ लागतमा तीन कोठाको जस्ताले छाएको घरसहित शौचालय निर्माण गरिएको कांग्रेस कैलाश गाउँपालिका सभापति राजेन्द्र घिसिङले जानकारी दिए ।
लामो समयदेखि जीर्ण र असुरक्षित घरमा बस्दै आएका चेपाङ दम्पती सुरक्षित आवास निर्माण गर्न आर्थिक रूपमा असमर्थ थिए। सानुमाया चेपाङ सानै उमेरमा हात जलेपछि आंशिक अपांगता लिएर जीवनयापन गर्दै आएकी छन् ।
दुई कट्ठा नम्बरी र तीन–चार कट्ठा ऐलानी जग्गा भए पनि कमजोर आर्थिक अवस्थाका कारण उनीहरू सुरक्षित घर बनाउन नसकिरहेको स्थानीयले बताएका छन् ।
घर हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले विपन्न तथा सीमान्तकृत समुदायको जीवनस्तर सुधार्नु राज्य र नेतृत्वको दायित्व भएको बताए । ‘सरकारको पदमा रहँदा पाउने सुविधा समाजका सबैभन्दा कमजोर वर्गको जीवनमा परिवर्तन ल्याउन प्रयोग हुनुपर्छ,’ उनले भने ।
स्थानीयवासी तथा जनप्रतिनिधिहरूले मुख्यमन्त्रीको व्यक्तिगत पहलको प्रशंसा गर्दै यसले अन्य नेतृत्वलाई पनि सामाजिक उत्तरदायित्व पूरा गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । सुरक्षित आवास पाएपछि चेपाङ दम्पतीले खुसी व्यक्त गर्दै सहयोगका लागि मुख्यमन्त्री र स्थानीय सरकारप्रति आभार प्रकट गरेका छन् ।
७ पुस २०८२, सोमबार
92
Shares








प्रतिक्रिया