काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट बङ्गालले जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा इस्ट बङ्गालले नेपालको एपिएफ क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो ।
इस्ट बङ्गलाको जितमा कप्तान फजिला इक्वापुटले दुई गोल गरिन् भने शिल्कीदेवी हनाम एक गोल गरिन् । कप्तान इक्वापुटले खेलको २२औँ मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई पहिलो अग्रता दिलाइन् ।
नेपालकी गोलकिपर अञ्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बङ्गालले पाएको अवसरलाई सदुपयोग गर्दै कप्तान फजिलाले गोल गर्न सफल भएकी हुन् ।
त्यसपछि खेलको ३५औँ मिनेटमा इस्ट बङ्गालले आफ्नो टोलीको अग्रता दोब्बर बनायो । उसका लागि शिल्कीदेवी हनामले गोल गरिन् । सरिता युमनामको कर्नरमा आशा लताले क्रस गरेको बलमा शिल्कीले हेडमार्फत गोल गरेकी हुन् ।
त्यसपछि खेलको दोस्रो हाफको सुरुआती मिनेटमा इस्ट बङ्गालले तेस्रो गोल गरेसँगै प्रतियोगितामा विजयी भएको हो । इस्ट बङ्गालकी कप्तान फजिलाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरिन् ।
त्यसपछि खेलमा गोल हुनसकेन र अन्तत इस्ट बङ्गालले एपिएफमाथि ३–० को सहज जित निकाल्र्दै प्रतियोगिताको उपाधि जित्यो । गत मङ्सिर १९ गतेदेखि सञ्चलान भएको उक्त प्रतियोगितामा पाँच राष्ट्रको सहभागिता थियो ।
फाइन खेल्ने दुई टोलीसहित पाकिस्तानको कराँची सिटी एफसी, बङ्गलादेशको नासिर स्पोर्टस एकेडेमी र भुटानको ट्रान्सपोर्ट युनाइटेड रहेका थिए ।










प्रतिक्रिया