Logo

विश्व

बंगलादेशमा विरोध आन्दोलनका नेता शरिफ उस्मान हादीको गोली लागेर मृत्यु, देशभर अशान्ति



ढाका। बंगलादेशका प्रमुख विरोध आन्दोलनका नेता तथा पूर्व प्रधानमन्त्री शेख हसिनाका कट्टर आलोचक शरिफ उस्मान हादीको टाउकामा गोली लागेपछि मृत्यु भएको छ । उनको मृत्युले बंगलादेशभर नयाँ राजनीतिक अशान्ति र विरोध प्रदर्शन सुरु भएको छ ।

इन्किलाब मञ्चका प्रवक्ता तथा गत वर्षको जुलाई आन्दोलनका अग्रणी नेता हादीको बुधबार सिंगापुरको एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गोली लागेपछि गम्भीर घाइते भएका उनी ६ दिनदेखि जीवन–मृत्युसँग संघर्षरत थिए ।

अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले एक दिनको राष्ट्रिय शोक घोषणा गर्दै हत्यामा संलग्न जो–कोहीलाई पनि कारबाही गरिने बताएका छन् । उनले हादीलाई जुलाई आन्दोलनका “निडर योद्धा”को संज्ञा दिएका छन् ।

गत हप्ता बंगलादेशमै अज्ञात आक्रमणकारीहरूले हादीमाथि गोली प्रहार गरेका थिए । आक्रमणबारे विस्तृत विवरण र संलग्न व्यक्तिबारे प्रहरीले हालसम्म सार्वजनिक गरेको छैन ।

हादी गत वर्ष विद्यार्थी नेतृत्वको आन्दोलनका प्रमुख अनुहार थिए, जसले अगस्ट ५ मा शेख हसिनाको नेतृत्वमा रहेको आवामी लिग सरकार पतन गराएको थियो । उनी आगामी राष्ट्रिय चुनावका उम्मेदवारसमेत रहेको उनका समर्थकहरूले बताएका छन् ।

हादीको मृत्युपछि राजधानी ढाकाको शाहबाग चोकलगायत विभिन्न स्थानमा हजारौं विद्यार्थी र सर्वसाधारण प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले दोषीको तत्काल पक्राउको माग गरेका छन् ।

बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) र जमात–ए–इस्लामीले हादीको मृत्युप्रति शोक व्यक्त गरेका छन् ।

इन्किलाब मञ्चले आक्रमणकारीहरू पक्राउ नपरे देशव्यापी हड्ताल घोषणा गर्ने चेतावनी दिएको छ । मञ्चले केही आरोपी भारततर्फ भागेको दाबी गर्दै भारतीय अधिकारीहरूसँग समन्वय गरेर फर्काइने जनाएको छ ।

यसैबीच, राजधानी ढाकास्थित चर्चित बंगाली दैनिक प्रोथोम आलो को कार्यालयमा भीडले तोडफोड र आगजनी गरेको छ । घटनाका क्रममा केही पत्रकार र कर्मचारी कार्यालयभित्रै थुनिएका थिए । आक्रमणको कारण हालसम्म स्पष्ट हुन सकेको छैन ।

बढ्दो तनावलाई ध्यानमा राख्दै सरकारले देशभर “अपरेशन डेभिल हन्ट–२” नामक सुरक्षा अभियान सुरु गरेको छ । साथै, चुनावी उम्मेदवार र प्रमुख राजनीतिक व्यक्तिहरूका लागि हतियार लाइसेन्स प्रक्रिया सहज बनाउने घोषणा गरेको छ ।

विश्लेषकहरूले हादीको हत्या आगामी चुनावको सन्दर्भमा बंगलादेशलाई फेरि राजनीतिक अस्थिरताको चरणमा धकेल्न सक्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ११ : १४ बजे