काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि भौतिक आक्रमण वा जाली मुद्दामार्फत निशाना बनाइए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
बिहीबार ११औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीको शपथग्रहणपछि कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले नेतृत्वमाथि आक्रमण भए देश ठप्प पारिने र सरकार ढालिने बताए । उनले पार्टी नेतृत्वविरुद्ध पञ्चायतकालीन शैलीको कूकर्म दोहोरिन खोजिएको आरोप लगाए ।
ओलीले एमाले नेतृत्वविरुद्ध ‘मिडिया ट्रायल’ र भौतिक हमलाको हल्ला चलाइएको दाबी गर्दै त्यसविरुद्ध देशभर तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिए । “एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ । यो सरकार ढल्नुपर्छ,” उनले भने ।
उनले एमाले नेतृत्वमाथि जाइलाग्नु संसारकै महँगो पर्ने चेतावनीसमेत दिए । पार्टी अब शब्दमा होइन, व्यवहारमै तयार भएर देखाउनुपर्ने ओलीको भनाइ थियो ।
ओलीको अभिव्यक्ति महाधिवेशनपछि पार्टीको नयाँ नेतृत्व गठन भएसँगै देखिएको राजनीतिक तनावको पृष्ठभूमिमा आएको हो ।










प्रतिक्रिया