Logo

मुख्य समाचार

पर्वत कारागार प्रमुखसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्वतको कुश्मास्थित कारागार कार्यालयका प्रमुख शिला श्रेष्ठसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरूले कारागारको भान्साघर निर्माणका क्रममा २१ लाख ५५ हजार ७३५ रुपैयाँ अनियमितता गरेको आरोप छ।

अख्तियारका अनुसार बिहीबार विशेष अदालत, काठमाडौंमा दायर मुद्दामा कारागार कार्यालय प्रमुख तथा बोलपत्र मूल्यांकन समितिका अध्यक्ष श्रेष्ठसँगै सघन सहरी तथा भवन निर्माण आयोजना, बागलुङका इन्जिनियर विकास अधिकारी, कारागार कार्यालय कुश्माका नायब सुब्बा हरिकृष्ण शर्मा र कोष तथा लेखा नियन्त्रण कार्यालय, पर्वतका सह–लेखापाल सुभास घर्ती प्रतिवादी छन्।

यसैगरी, मोदी गाउँपालिका–६, पर्वतस्थित मोदीकाली कन्स्ट्रक्सनका प्रोप्राइटर प्रदीप तिमिल्सिनाविरुद्ध पनि मुद्दा दायर गरिएको छ।

कारागारको भान्साघर निर्माणका लागि निकासा भएको रकममा अनियमितता भएको उजुरीपछि अख्तियारले अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा कारागार प्रमुख, इन्जिनियर र निर्माण व्यवसायीको मिलेमतोमा २१ लाख ५५ हजार ७३५ रुपैयाँ बराबरको भ्रष्टाचार भएको पुष्टि भएको अख्तियारले जनाएको छ।

दायर मुद्दामा अख्तियारले प्रतिवादीहरूसँग सोही रकम बिगो मागदाबी गरेको छ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  ५ : ५५ बजे