Logo

राजनीति

“महाधिवेशन प्रतिनिधिसँग आत्मीय भेटघाट नै मेरो चुनावी शक्ति हो” : कोमल ओली



काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनलाई प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट, चिनापरिचय र आत्मीय सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा लिएको बताउँदै केन्द्रीय सदस्य उम्मेदवार कोमल ओलीले महाधिवेशनको माहोल अत्यन्तै सौहार्दपूर्ण र उत्साहजनक रहेको बताएकी छन् । देशभरबाट आएका प्रतिनिधिहरूसँग नजिकबाट भेट्ने, परिचय आदान–प्रदान गर्ने र राजनीतिक संवाद गर्ने अवसर नै महाधिवेशनको सबैभन्दा सुन्दर पक्ष भएको उनको भनाइ छ ।
नेपाल न्युज बैंकसँगको विशेष कुराकानीमा ओलीले आफूले पोस्टर, पम्प्लेट वा ठूलो खर्च नगरी सामान्य अभिवादन र प्रत्यक्ष संवादमार्फत भोट मागिरहेको बताइन् । “नमस्कार गरेर, कुरा गरेर भोट माग्दा प्रतिनिधिहरूले सकारात्मक प्रतिक्रिया दिनुभएको छ, ” उनले भनिन्, “सबैले तपाईं जस्तो नेता चाहिन्छ भन्नु भएको छ, तर परिणाम त मतदानपछि मात्रै थाहा हुन्छ ।”
महाधिवेशनमा गोप्य मतदान हुने भएकाले भनिएको कुरा नै अन्तिम सत्य नहुने अनुभव अघिल्ला चुनावबाट सिकेको उनले बताइन् । यद्यपि यसपटक प्रयोग गरिएको इलेक्ट्रोनिक मतदान प्रणाली सहज र पारदर्शी भएको उनको धारणा छ । “पूरा मत नहाल्दासम्म मेसिनले स्वीकार्दैन, त्यसैले मतदान प्रक्रिया स्पष्ट र भरपर्दो छ,” उनले भनिन् ।
ओलीले पार्टीले यसपटक युवालाई विशेष प्राथमिकता दिएको उल्लेख गर्दै भावी नेतृत्व युवाबाटै विकसित हुने विश्वास व्यक्त गरिन् । प्रत्येक प्रदेशबाट युवाहरूलाई पर्याप्त प्रतिनिधित्व दिइएको र उनीहरूलाई प्रशिक्षण तथा मार्गदर्शनमार्फत नेतृत्वका लागि तयार पार्ने नीति पार्टीले लिएको उनले बताइन् ।
महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेल सहित नेताहरूको उम्मेदवारीलाई आन्तरिक लोकतन्त्रको सुन्दर अभ्यासका रूपमा व्याख्या गर्दै उनले एमालेभित्र प्रतिस्पर्धा, चुनाव र लोकतान्त्रिक अभ्यास सशक्त रूपमा स्थापित भएको दाबी गरिन् । “प्रतिस्पर्धाबाट उत्कृष्ट नेतृत्व छानिन्छ,” कोमल ओलीले भनिन् ।
आफ्नो राजनीतिक यात्राबारे बोल्दै कोमल ओलीले २०७३ सालमा रेडियो नेपालबाट राजीनामा दिएर राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेको, त्यहाँ सबैभन्दा बढी मत प्राप्त केन्द्रीय सदस्य बनेको र पार्टी विघटनपछि वैचारिक रूपमा बलियो र जनमत भएको पार्टी खोज्दै एमालेमा आएको बताइन् । केपी शर्मा ओलीको नेतृत्व र व्यक्तित्वबाट प्रभावित भएर एमाले प्रवेश गरेको उनको भनाइ छ ।
पार्टीले दिएको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्दै राष्ट्रिय सभा सदस्य, केन्द्रीय सदस्य र प्रतिनिधिसभा उम्मेदवारको भूमिका निभाएको उल्लेख गर्दै उनले एमालेको राष्ट्रिय शक्ति निर्माणको संकल्पलाई सफल बनाउन प्रतिबद्ध रहने बताइन् । “तपाईंहरूको भोट खेर जान दिने छैन,” उनले भनिन्, “म जनताको सेवा, राष्ट्रको रक्षा र देशको हितका लागि सधैँ उभिरहने तपाईंहरूको छोरी हुँ ।”

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ६ : ४१ बजे