वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा जाने र त्यहाँबाट बाहिरिने सबै “प्रतिबन्धित तेल ट्याङ्करहरू” अवरुद्ध गर्न आदेश दिएका छन्। यस निर्णयसँगै संयुक्त राज्य अमेरिकाले राष्ट्रपति निकोलस मदुरोको सरकारविरुद्धको दबाब अभियानलाई थप कडा बनाएको छ।
राष्ट्रपति ट्रम्पले मंगलबार साँझ आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममार्फत उक्त आदेशको घोषणा गर्दै क्यारिबियन क्षेत्रमा अमेरिकी नौसैनिक उपस्थिति उल्लेखनीय रूपमा बढाइएको बताएका छन्। उनले भेनेजुएला दक्षिण अमेरिकाको इतिहासमै सबैभन्दा ठूलो नौसैनिक बेडाले घेरिएको दाबी गरेका छन्, जसमा विमानवाहक जहाजसहितका अमेरिकी नौसेना तथा समुद्री सैनिक समावेश छन्।
यो कदम हालैका हप्ताहरूमा दुवै देशबीच बढ्दो तनावको पछिल्लो घटनाक्रम हो। लागुऔषध तस्करीविरुद्धको अभियानको नाममा अमेरिकाले क्यारिबियन क्षेत्रमा सैन्य तैनाथी विस्तार गर्दै आएको छ। भेनेजुएलाले भने यसलाई राष्ट्रपति मदुरोलाई सत्ताबाट हटाउने र देशको तेल स्रोतमा नियन्त्रण जमाउने प्रयासका रूपमा व्याख्या गरेको छ।
गत साता अमेरिकी अधिकारीहरूले भेनेजुएलाबाट बाहिरिएको एउटा तेल ट्याङ्कर नियन्त्रणमा लिएका थिए। त्यससँगै भेनेजुएलाको तेल उद्योगसँग सम्बन्धित अन्य जहाज र कम्पनीहरूमाथि नयाँ प्रतिबन्ध घोषणा गरिएको थियो।
भेनेजुएलाको अर्थतन्त्र कच्चा तेल निर्यातमा अत्यधिक निर्भर भएकाले ट्याङ्कर अवरोधले मदुरो सरकारमाथि थप आर्थिक दबाब सिर्जना गर्ने अनुमान गरिएको छ। राष्ट्रपति ट्रम्पले भेनेजुएलाको तेल उत्पादनमा अमेरिकाको पहुँच पुनःस्थापित गर्ने लक्ष्य रहेको पनि स्पष्ट पारेका छन्। उनले भेनेजुएलाले विगतमा अमेरिकाबाट “चोरेका” तेल, भूमि र अन्य सम्पत्ति फिर्ता नगरेसम्म अमेरिकी नौसैनिक उपस्थिति अझ बढ्ने चेतावनी दिएका छन्।
हाल विशेष प्रतिबन्ध छुटअन्तर्गत भेनेजुएलामा सञ्चालनरत अमेरिकी कम्पनी सेभरोनले आफ्नो गतिविधि कुनै अवरोधबिना र लागू कानुन तथा नियमको पूर्ण पालना गर्दै निरन्तर चलिरहेको जनाएको छ।
भेनेजुएला सरकारले राष्ट्रपति ट्रम्पको घोषणाको कडा निन्दा गर्दै यसलाई आफ्नो राष्ट्रिय सम्पत्ति लुट्ने प्रयास भनेको छ। अमेरिकी प्रतिबन्धका बाबजुद भेनेजुएलाले विगतका वर्षहरूमा कालो बजारमार्फत छुट मूल्यमा कच्चा तेल बिक्री गर्दै आएको छ, जसको प्रमुख खरिदकर्ता चीन रहेको बताइन्छ।
पेट्रोलियम निर्यातक देशहरूको सङ्गठन (ओपेक) का अनुसार भेनेजुएलासँग करिब ३०३ अर्ब ब्यारेल प्रमाणित तेल भण्डार छ, जुन विश्वमै सबैभन्दा ठूलो मानिन्छ।
अर्थशास्त्रीहरूले तेल निर्यात पूर्ण रूपमा अवरुद्ध भएमा भेनेजुएलामा गम्भीर आर्थिक सङ्कट निम्तिन सक्ने चेतावनी दिएका छन्। ओरिनोको रिसर्चका एलियास फेररका अनुसार यस्तो अवस्थामा विदेशी मुद्रा अभाव, आयात क्षमतामा गिरावट, र खाद्य तथा औषधिको कमी देखिन सक्छ।
यसैबीच पेन्टागनले ‘साउदर्न स्पियर’ नाम दिइएको आफ्नो सैन्य अपरेसन लागुऔषध तस्करीमा संलग्न गिरोहविरुद्ध केन्द्रित रहेको दाबी गरेको छ। ट्रम्प प्रशासनले भेनेजुएलासँग सम्बन्धित भनिएको ‘कार्टेल डे लस सोल्स’लाई विदेशी आतङ्कवादी सङ्गठन घोषणा गर्दै राष्ट्रपति मदुरो नै यसको नेता भएको आरोप लगाएको छ। काराकासले यी सबै आरोपलाई अस्वीकार गर्दै राजनीतिक उद्देश्यबाट प्रेरित भएको बताएको छ।










प्रतिक्रिया