काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज (पुस १) बेलुका ७ बजेदेखि मतदान हुने भएको छ । पार्टी निर्वाचन आयोगका अनुसार मतदान राति १ बजेसम्म चल्नेछ ।
यसअघि आयोगले दिउँसो २ बजेदेखि मतदान सुरु गर्ने तयारी गरेको भए पनि आन्तरिक तयारी पूरा नभएकाले समय सारिएको हो । विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गरिने आयोगले जनाएको छ । प्राविधिक टोलीले तयार पारेको क्रमसंख्यासहितको मतदाता नामावलीमा त्रुटि देखिएपछि पुनः मिलाउन समय लागेको आयोगको भनाइ छ ।
महाधिवेशनमा १९ पदाधिकारी पदका लागि ४२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ । सबै पद गरी ३०० भन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन् ।
काठमाडौंको भृकुटीमण्डपमा निर्वाचन प्रक्रिया जारी छ । आयोगका अनुसार रामलक्ष्मण भोटिङ मेसिन प्रयोग गरी मतदान गरिनेछ ।










प्रतिक्रिया