Logo

राजनीति

एमाले केन्द्रीय कमिटी ३०१ सदस्यीय रहने



काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु हुनुअघि सम्पन्न केन्द्रीय कमिटी बैठकले पार्टीको केन्द्रीय कमिटी ३०१ सदस्यीय रहने निर्णय गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले बैठकमा उक्त निर्णयबारे जानकारी गराएका हुन् । १०औँ महाधिवेशनबाट कायम गरिएको केन्द्रीय कमिटी संरचनालाई निरन्तरता दिने निर्णय बहुमतले गरेको एमालेले जनाएको छ ।

बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत नेताहरूले विधान महाधिवेशनबाट पारित विषयमा परिवर्तन नगर्न माग गरेका थिए । तर बहुमत सदस्यहरूको मतका आधारमा १०औँ महाधिवेशनअनुसार नै केन्द्रीय कमिटीको आकार कायम गर्ने निर्णय भएको हो ।

बैठकको सुरुआतमा अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन समारोहमा पार्टी कार्यकर्ताको उल्लेखनीय उपस्थितिले मुलुकमा राजनीतिक दलको औचित्य पुष्टि भएको बताए ।

यसैगरी, महासचिव शङ्कर पोखरेलले बन्दसत्रमा प्रस्तुत गरिने निर्वाचन कार्यतालिका, आचारसंहिता र समसामयिक राजनीतिक एजेण्डालगायतका विषय बैठकमा प्रस्तुत गरेका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ३ : ४२ बजे