Logo

अर्थ

१० दिनका लागि ३५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै राष्ट्र बैंक



काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबार (मंसिर २८) १० दिनका लागि ३५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत तरलता खिच्न लागेको हो।

राष्ट्र बैंकका अनुसार हाल वित्तीय प्रणालीको कुल निक्षेप ७५ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधामार्फत नियमित रूपमा तरलता व्यवस्थापन गर्दै आएको छ।

निक्षेप संकलन अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल विधिबाट हुनेछ। यसमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण गरिनेछ।

राष्ट्र बैंकले आह्वान गरेको निक्षेप रकम बोलकबोलमा प्रस्तावित ब्याजदरका आधारमा बाँडफाँट गरिनेछ। सबैभन्दा कम ब्याजदर बोल गर्ने प्रस्तावलाई प्राथमिकता दिँदै आह्वान रकम पूरा हुने गरी क्रमशः निक्षेप स्वीकार गरिने व्यवस्था छ।

बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ तोकिएको छ भने अधिकतम रकम कुल आह्वान रकमभित्र ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी निर्धारण गरिएको छ। यस निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ साल पुष ९ गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ।

खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा त्यसको व्यवस्थापन र ब्याजदर स्थिर राख्न केन्द्रीय बैंकले बढीमा ६ महिनासम्मको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ। यही प्रावधानअनुसार राष्ट्र बैंकले पछिल्लो समय पटक–पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  १२ : २४ बजे