Logo

मुख्य समाचार

गभर्नर पौडेललाई बर्खास्त गर्न जेनजी युनाइटेडको सरकारसँग माग



काठमाडौं। जेनजी युनाइटेडले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्न सरकारसँग माग गरेको छ।

युनाइटेडका प्रतिनिधि टोलीले आइतबार सिंहदरबारमा अर्थमन्त्री रामेश्वर खनाललाई भेट गरी गभर्नर पौडेलको नियुक्ति अयोग्य रहेको दाबी गर्दै बर्खास्तीको मागपत्र बुझाएको हो।

जेनजी युनाइटेडका संयोजक जनक परियारले गभर्नर पदका लागि आवश्यक योग्यता, विज्ञता र अनुभव डा. पौडेलसँग नभएको आरोप लगाए। उनका अनुसार नियुक्तिका क्रममा पेस गरिएका शैक्षिक प्रमाणपत्र, कार्यअनुभव र विषयगत दक्षताले गभर्नर पदका मापदण्ड पूरा गर्दैनन्।

युनाइटेडले गभर्नर पौडेल राजनीतिक भागबन्डाका आधारमा नियुक्त भएको दाबी गरेको छ। साथै, उनी राजनीतिक दलको सदस्य रहेको, सानिमा बैंकका संस्थापक सेयरधनी भएको, तत्कालीन सरकारले गभर्नर नियुक्तिका लागि गठन गरेको समितिमा सदस्य भएर पछि राजीनामा दिएर स्वयं गभर्नर बनेको आरोप पनि लगाइएको छ।

यिनै विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी तथा सर्वोच्च अदालतमा मुद्दा परेको उल्लेख गर्दै जेनजी युनाइटेडले गभर्नर पौडेललाई पदबाट हटाउन सरकारसँग माग गरेको छ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  १२ : २१ बजे