Logo

राजनीति

विधान संशोधनको विषयमा एमाले केन्द्रीय कमिटी बैठकमा तीव्र विवाद



काठमाडौं। नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा पार्टीको विधान संशोधन गर्ने वा नगर्ने भन्ने विषयमा तीव्र विवाद देखिएको छ। विधान संशोधनमार्फत पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य संख्या बढाउने प्रस्ताव उठेपछि बैठक तनावग्रस्त बनेको हो।

पार्टीको महाधिवेशनअन्तर्गत आज बिहान सुरु हुने तय भएको बन्दसत्र विधान संशोधनको तयारीका कारण दिउँसोका लागि सारिएको छ। बैठक स्रोतका अनुसार अध्यक्ष केपी शर्मा ओलीले औपचारिक रूपमा विधान संशोधनको प्रस्ताव एजेन्डामा राखेका छैनन्। तर, उनी निकट नेताहरूले बैठकको फ्लोरबाट विधान संशोधनको विषय उठाएपछि विवाद चर्किएको हो।

फ्लोरबाट आएको प्रस्तावको अर्को समूहले कडा विरोध जनाएको छ। विशेषगरी अध्यक्षमा पुनः उम्मेदवारी दिने तयारीमा रहेका ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिने संकेत गरेका छन्। विधान संशोधनको प्रस्तावप्रति पोखरेल पक्ष असहमत रहेको बैठक स्रोतले जनाएको छ।

गत भदौमा सम्पन्न विधान महाधिवेशनबाट पार्टीको विधान पारित भएको थियो। तीन महिनामै विधान महाधिवेशनबाट पारित विधान किन संशोधन गर्नुपर्ने भन्ने प्रश्न उठाउँदै एक पक्षले आपत्ति जनाएको छ। यही विषयमा मतभेद चर्किँदा केन्द्रीय कमिटी बैठकमा तीव्र विवाद देखिएको छ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  १२ : १५ बजे