Logo

खेलकुद

एनपीएल–२ : रोहित सर्वोत्कृष्ट खेलाडी, कारसहित विभिन्न विधामा पुरस्कार वितरण



काठमाडौं — लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।

लुम्बिनीलाई उपाधि दिलाउन निर्णायक अलराउन्ड प्रदर्शन गरेका रोहितले प्रतियोगिताका १० खेलमा २६७ रन बनाउनुका साथै १० विकेट लिएका थिए। सर्वोत्कृष्ट खेलाडी घोषित भएसँगै उनले एक थान ओमोडा–जाइको जे–५ कार प्राप्त गरे। साथै, प्रतियोगितामा नेपालबाट सर्वाधिक रन बनाउने ब्याटर बनेका रोहितले एक थान पल्सर मोटरसाइकलसमेत पाए।

लुम्बिनी लायन्सकै बलर शेर मल्ल प्रतियोगिताको उदीयमान खेलाडी चुनिए। उनले पनि एक थान पल्सर मोटरसाइकल प्राप्त गरे। प्रतियोगिताको उत्कृष्ट बलर विराटनगरका कप्तान सन्दीप लामिछाने घोषित भए, जसबापत उनले पल्सर मोटरसाइकल पाए।

रेडबुलद्वारा प्रायोजित ‘इनरजेटिक प्लेयर अफ द टुर्नामेन्ट’ को उपाधि सुदूरपश्चिम रोएल्सका बलर अभिनाश बोहराले जिते। उनले नगद दुई लाख रुपैयाँ प्राप्त गरे।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोएल्सलाई ६ विकेटले पराजित गर्दै एनपीएल दोस्रो संस्करणको उपाधि जितेको हो।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ७ : १८ बजे