झापा । राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष राजेश पोर्तेलले देशमा सुशासन नभएकै कारण आज युवाहरु मिलेर नयाँ पार्टी खोल्नुपर्ने अवस्था आएको बताएका छन् ।
शनिबार दमकको आदिवासी रङ्गशालामा राष्ट्रिय परिवर्तन पार्टीको औपचारिक घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष पोर्तेलले देशमा भ्रष्टहरुलाई कारवाही नभएकै कारण आज देश विकाराल अवस्थामा पुगेको र जेनजीहरुको उदय भएको उनले बताए ।
जेनजी आन्दोलनका क्रममा दाहिने खुट्टा गुमाएका पोर्तेलले असली जेनजीहरु ओझेलमा परेको र नक्कली जेनजीहरु हावी भएको आरोप लगाए ।
आफू सक्कली घाईते तथा जेनजी नै भएको बताउँदै अध्यक्ष पोर्तेलले जेनजी आन्दोलनलाई दमन गर्नेहरुलाई कानुनी दायराम ल्याउन वर्तमान सरकार असक्षम रहेको आरोप लगाए ।
सो अवसरमा जेनजी शहीद श्रेयम चौलागाईको बुबा गणेश प्रसाद चौलागाईले वर्तमान सरकारले जेनजीको भावना विपरितका गतिविधिहरुलाई बढावा दिएको आरोप लगाए । उनले सुशीला कार्की नेतृत्वको सरकारले काम गर्न नसके राजीनामा दिन सुझाव दिए । त्यस्तै जेनजी युवा अजयले जेनजीलाई कमजोर नठान्न चेतावनी दिए ।
ठूलो संख्यामा स्थानीय र जेनजी युवाहरुको सहभागिता रहेको भेलालाई सम्बोधन गर्दै उनले भने,‘देशको मायाले सानै उमेरमा म राजनीतिमा होमिन बाध्य भए ।’ देशलाई दुरदर्शी नेताको खाँचो रहेको बताउँदै उनले भ्रष्टाचारका कारण आज देश थिलोथिलो भएको बताए । तर अब राष्ट्रिय परिवर्तन पार्टीको उदयसँगै यसले राष्ट्रिय राजनीतिमा पनि प्रभाव पार्ने दाबी गरे ।
जेनजी आन्दोलनका घाइते, शहीद परिवार र युवा पुस्ता मिलेर निर्माण भएको ‘राष्ट्रिय परिवर्तन पार्टी’को औपचारिक घोषण सभामा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता थियो ।
जेनजी युनाईटेड समूहका जेनजीहरु ‘राष्ट्रिय परिवर्तन पार्टी’मा समाहित भएको र पार्टीको औपचारिक घोषणा गर्न सभा गरिएको हो ।
२७ मंसिर २०८२, शनिबार
92
Shares








प्रतिक्रिया