काठमाडौं— सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि लुम्बिनी लायन्सले जितेको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनलमा लुम्बिनीले सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै नयाँ च्याम्पियन बनेको हो । यससँगै सुदूरपश्चिम लगातार दोस्रो पटक उपविजेतामै सीमित भएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमै अलआउट भयो । यो एनपीएल फाइनलको सबैभन्दा कम योगफल हो भने प्रतियोगिताको संयुक्त रूपमा चौथो कम स्कोर हो ।
लुम्बिनीका कप्तान रोहित पौडेल, रुबेन ट्रमपलम्यान र शेर मल्लले धारिलो बलिङ गर्दै सुदूरपश्चिमको इनिङ्स ध्वस्त पारे । रोहितले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिँदै ११औँ ओभरमा ह्याट्रिक पूरा गरे । ट्रमपलम्यानले २.१ ओभरमा ३ रन मात्र खर्चेर ३ विकेट लिए भने शेर मल्लले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । तिलक भण्डारीले १ विकेट हात पारे ।
सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए । कप्तान दीपेन्द्र सिंह ऐरीले १३ रन जोडे भने हर्मित सिंह र स्कट कुगेलेइनले समान १०–१० रन बनाए ।
८६ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले ९ ओभरमै खेल समाप्त गर्दै उपाधि जित्यो । ओपनर दिनेश अधिकारीले आक्रामक ब्याटिङ गर्दै १३ बलमा ४२ रन बनाए, जसमा ५ छक्का र १ चौका समावेश थियो । पहिलो ओभरमै उनले दीपेन्द्र सिंह ऐरीलाई ४ छक्का प्रहार गर्दै लुम्बिनीलाई तीव्र सुरुआत दिलाएका थिए ।
दिनेशले डार्शी सर्टसँग पहिलो विकेटका लागि ४ ओभरमै ५८ रनको साझेदारी गरे । सर्ट १४ बलमा १३ रन बनाएर आउट भए ।
लिग चरणमा कमजोर सुरुआत गरे पनि लुम्बिनीले पछिल्ला ६ खेल लगातार जित्दै सानदार पुनरागमनका साथ एनपीएलको उपाधि जित्न सफल भयो ।










प्रतिक्रिया