Logo

राजनीति

मुलुकलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्रका विरुद्ध एमाले अगाडि बढेको छ : महासचिव पोखरेल



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले सरकारबाट बाहिरिए पनि नेपाली जनताको मनमा गहिरो गरि बसेको बताएका छन् ।
शनिबार भक्तपुरमा सुरु भएको एमालेको ११ औं राष्ट्रिय महाधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले भदौ २३ र २४ गतेको घटनापछि नेकपा एमाले र त्यसको नेतृत्वविरुद्धमा सुनियोजित रुपमा प्रहार भएको भन्दै उक्त प्रहारले एमाले कमजोर नभएको बताए ।
उनले भने, ‘भदौ २३ र २४ गतेको घटनापछि यो मुलुकमा नेकपा एमाले र त्यसको नेतृत्वका विरुद्धमा सुनियोजित रुपमा जुन प्रकारको प्रहार भइरहेको थियो कतिपयलाई लागेको थियो अब नेकपा एमालेको भविष्य समाप्त भयो भनेर । हामी सरकारबाट बाहिरिएका हौं तर नेपाली जनताको मनमा गहिरो गरि बसेका छौं । आजको सभाले पनि एमाले कमजोर भएको छैन् भन्ने कुरा पुष्टि गरेको छ ।’
यस्तै, उनले एमालेले मुलुकलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्रका विरुद्ध र मुलुकलाई लोकतन्त्रको दिशामा अगाडि बढाउने उद्घोषका साथ महाधिवेशन अगाडि बढाएको पनि बताए ।
उनले भने, ‘नेकपा एमालेले संकल्प गरेको छ मुलुकलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्रका विरुद्ध अगाडि बढ्ने छौ र मुलुकलाई लोकतन्त्रको दिशामा अगाडि बढाउने छौ भन्ने उद्घोषका साथ महाधिवेशन अगाडि बढाएका छौ ।’
नेपाली जनताले निर्वाचित गरेको प्रतिनिधि सभा विघटन गरिएको र मुलुकमा एक प्रकारको अनिश्चितता, भय र त्रासको वातावरणमा मुलुकलाई पछाडि वा प्रतिगमनतर्फ धकेल्ने दुस्प्रयास भइरहेको बेला पार्टीको महाधिवेशन गरेको पनि उनको भनाई छ ।
उनले भने, ‘हामी यस्तो चुनौतीको क्षणमा पार्टीको ११ औं राष्ट्रिय महाधिवेशन आयोजना गरिरहेका छौ । जतिबेला देशमा जनताले लामो संघर्षबाट प्राप्त गरेको ऐतिहासिक संविधान सभाबाट निर्माण भएको ऐतिहासिक संविधान घायल भएको छ । नेपाली जनताले दशकौं लामो संघर्षबाट प्राप्त गरेको लोकतन्त्र कमजोर बनाइएको छ । नेपाली जनताले निर्वाचित गरेको प्रतिनिधि सभा विघटन गरिएको छ र एक प्रकारको अनिश्चितता, भय र त्रासको वातावरणमा मुलुकलाई पछाडि धकेल्ने, प्रतिगमनतर्फ लैजाने दुस्प्रयास भइरहेको बेला पार्टीको महाधिवेशन गर्दैछौ ।’

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  २ : ५६ बजे