काठमाडौं । श्रम संस्कृति पार्टीले त्रिभुवन विश्वविद्यालय (त्रिवि) कीर्तिपुर परिसरमा सरसफाइ अभियान सञ्चालन गरेको छ । शनिबार पार्टीका कार्यकर्ताहरूले श्रमदान गर्दै त्रिवि कीर्तिपुर क्षेत्रको सरसफाइ गरेका हुन् ।
कार्यक्रममा श्रम संस्कृति पार्टीका केन्द्रीय सह–कोषाध्यक्ष जितेन बन्तवा राईले पछिल्लो ५३ दिनदेखि निरन्तर रूपमा काम भइरहेको जानकारी दिए। उनका अनुसार ४३२ रोपनी क्षेत्रफलमा फैलिएको घना जंगल र झाडी हटाउने काम सम्पन्न भएको छ ।
राईले भने, ‘पहिले यो क्षेत्र चितुवा बस्न सक्ने जस्तो झाडीले ढाकिएको थियो भने लागूऔषध प्रयोग गर्नेहरूको थलोसमेत बनेको थियो । हामीले करिब ५३–५४ दिनको निरन्तर श्रमदानबाट सबै झाडी फाडेर हटाएका छौं । अब दोस्रो चरणमा सरसफाइको काम हुन्छ । त्यसपछि गार्डेन निर्माण र वृक्षरोपण गरिनेछ ।’
उनका अनुसार ४३२ रोपनी क्षेत्रफलमा विभिन्न किसिमका गार्डेन निर्माणका लागि डिजाइन तयार पार्ने काम भइरहेको छ । शनिबार मात्रै देशभरका ७७ वटै जिल्लाबाट करिब ४०० जनाको सहभागितामा श्रमदान कार्यक्रम सम्पन्न भएको उनले बताए । श्रम संस्कृति पार्टीले श्रम, सरसफाइ र वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ ।










प्रतिक्रिया