Logo

विश्व

राष्ट्रसंघद्वारा इमरान खानको जेल अवस्थाबारे तत्काल कदम चाल्न पाकिस्तानलाई आग्रह



काठमाडौं । संयुक्त राष्ट्रसंघकी यातना मामिला हेर्ने विशेष विज्ञ एलिस जिल एडवड्र्सले पाकिस्तान सरकारलाई पूर्वप्रधानमन्त्री इमरान खानको जेलभित्रको अवस्थाबारे तत्काल र प्रभावकारी कदम चाल्न आग्रह गरेकी छन् । उनले इमरानमाथि भइरहेको व्यवहार यातना वा अमानवीय तथा अपमानजनक व्यवहारको श्रेणीमा पर्न सक्ने चेतावनी दिएकी छन् ।

एडवड्र्सका अनुसार इमरान खानलाई सन् २०२३ सेप्टेम्बर २६ देखि रावलपिण्डीस्थित अडियाला जेलमा राखिएको छ । उनलाई दिनको २३ घण्टा एकान्त कोठरीमा बन्द गरी लामो समयदेखि एकान्त कारावासमा राखिएको जनाइएको छ । बाहिरी संसारसँगको सम्पर्क अत्यन्त सीमित गरिएको र एकान्त कोठरीभित्र निरन्तर क्यामेराको निगरानीमा राखिएको पनि उनले बताइन् ।

उनले अन्तर्राष्ट्रिय मानव अधिकार कानुनअनुसार १५ दिनभन्दा बढी समयसम्मको एकान्त कारावास निषेध रहेको उल्लेख गर्दै यस्तो अवस्थालाई यातनाको एक रूप मानिने स्पष्ट पारिन् । “इमरान खानको हिरासतका सर्त अन्तर्राष्ट्रिय मापदण्ड र मानकअनुसार सुनिश्चित गरिनुपर्छ,” एडवड्र्सले भनिन् ।

उनका अनुसार इमरानलाई कोठरीबाहिर गतिविधि गर्न, अन्य कैदीसँग भेटघाट गर्न तथा सामूहिक नमाजमा सहभागी हुन अनुमति दिइएको छैन । वकिल, परिवारजन र अन्य व्यक्तिसँगको भेटघाट पनि प्रायः रोकिएको वा समयअघि नै समाप्त गरिने गरिएको छ ।

एडवड्र्सले इमरान खानमाथि लगाइएको एकान्त कारावास तत्काल अन्त्य गर्न आग्रह गर्दै लामो समयसम्मको यस्तो कारावासले उनको शारीरिक तथा मानसिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने बताइन् ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  १ : १२ बजे