Logo

मुख्य समाचार

एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिने : मन्त्री घिसिङ



तनहुँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिने चेतावनी दिएका छन् ।

शनिबार (मंसिर २७) तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने त्रिशूली नदीमाथि निर्माणाधीन घुमाउने पुलको स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङले निर्माण व्यवसायीलाई तत्काल काम अघि बढाउन निर्देशन दिए । तोकिएको समयभित्र काम सुरु नभए ठेक्का तोड्नुको विकल्प नरहेको उनको भनाइ छ ।

लामो समयदेखि अलपत्र परेको घुमाउने पुल राष्ट्रियस्तरमै चासोको विषय बनेको उल्लेख गर्दै उनले जसरी पनि पुल निर्माण सम्पन्न गर्नुपर्ने बताए । “यहाँ राष्ट्रपतिको समेत चासो छ । काम गर्नुस्, नगर्ने हो भने स्पष्ट भन्नुस्,” मन्त्री घिसिङले भने ।

मन्त्री घिसिङले पुलको डिजाइन परिवर्तनका कारण काम ढिलाइ भएको विषयमा असन्तुष्टि जनाउँदै सडक विभागलाई तत्काल डिजाइन स्वीकृत गर्न निर्देशन दिए । पुरानै डिजाइन हुँदा पनि नौ वर्षसम्म काम अघि नबढ्नु गम्भीर लापरवाही भएको उनले बताए ।

आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–२९ जोड्ने घुमाउनेमा मोटरेबल पुल निर्माण ११ वर्षअघि सुरु भए पनि हालसम्म दुवैतर्फका पिल्लर मात्र निर्माण भएका छन् । सम्झौताअनुसार काम भएको भए पुल यसअघि नै सम्पन्न भइसक्ने अवस्था रहेको छ ।

घुमाउने पुल निर्माणका लागि पहिलोपटक २०७० असारमा हेटौँडास्थित मृत सञ्जीवनी निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो । पटक–पटक म्याद थप र डिजाइन परिवर्तनपछि अन्तिमपटक २०७५ माघमा पुनः सम्झौता गरिएको थियो । २०७८ चैतसम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म करिब ५० प्रतिशत मात्र काम सम्पन्न भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

१०५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइको उक्त पुलको प्रारम्भिक लागत नौ करोड ५६ लाख रुपैयाँ रहेको छ ।

गण्डकी प्रदेशलाई चितवनको नारायणगढसँग जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंहमार्गअन्तर्गत पर्ने यो पुल निर्माण सम्पन्न भएपछि पोखरा र दमौलीबाट नारायणगढ आउजाउ गर्दा हाल प्रयोगमा रहेको मुग्लिन–नारायणगढ सडकभन्दा करिब २३ किलोमिटर दूरी छोटो पर्नेछ । पुल नहुँदा हाल यातायातका साधन तनहुँकै सिमानाबाट फर्कन बाध्य छन् ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  १२ : ०९ बजे