काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनकोे आज फाइनल खेल हुँदैछ । शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३ः३० बजे हुने खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।
सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो भने इलिमिनेटरमा काठमाडौं गोर्खाज् र दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गरेर लुम्बिनीले फाइनलमा आफ्नो स्थान बनाएको हो ।
गत वर्ष जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित हुँदै उपविजेता बनेको सुदूरपश्चिमले यसपटक विजेताको उपाधि जित्ने लक्ष्य राखेको छ ।
लिग चरणका ६ खेल जितेर एक खेलमा हार ब्यहोरेको सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा रहँदै प्लेअफ पुगेको थियो । सुदूरपश्चिम लिग चरणमा विराटनगरसँग मात्र पराजय भएको हो ।
कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा सुदूरपश्चिम छ भने कप्तान रोहित पौडेलको नेतृत्वमा लुम्बिनी लायन्स छ । गत संस्करणमा लिग चरणमै बाहिरिएको लुम्बिनी लायन्स यो पटक भने आफ्नो उत्कृष्ट प्रदर्शन देखाउँदै उपाधि जित्ने लक्ष्यमा छ ।
लिग चरणका सुरुवाती खेल जितेपछि लगातार तीन खेलमा पराजित ब्यहोरे पनि लुम्बिनीले अन्तिम तीन खेलमा विजय हासिल गर्दै प्लेअफमा स्थान बनाएको थियो ।
इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ४ विकेटले हराउँदै दोस्रो क्वालिफायरमा प्रवेश गरेको लुम्बिनीले विराटनगर किङ्सलाई ४० रनले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
लिग चरणका २८ खेल र प्लेअफका ३ खेल सकिएपछि आज उपाधि विजेता तय गर्ने निर्णायक खेल हुँदैछ । एनपीएलको विजेताले रु १ करोड १० लाखको आकर्षक पुरस्कार रकम प्राप्त गर्नेछ भने उपविजेताले रु ५१ लाख, तेस्रो स्थानले रु २५ लाख र चौथो स्थानले रु १५ लाख हात पार्नेछ ।
नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर १ गतेदेखि सञ्चालनमा आएको यस प्रतियोगितामा आठ टोलीले सहभागिता जनाएका थिए ।










प्रतिक्रिया