Logo

मुख्य समाचार

कांग्रेस नेता जिपछिरिङ लामाको चुनाव नलड्ने घोषणा


२६ मंसिर २०८२, शुक्रबार  

230
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जिपछिरिङ लामाले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन्। दोलखाका नेता–कार्यकर्तासँगको भेलामा लामाले नयाँ नेताहरूलाई अघि बढाउन अवसर दिने उद्देश्यले आफू चुनावमा नउत्रिने स्पष्ट गरे।

लामाले आफ्नो उम्मेदवारीका कारण निर्वाचन क्षेत्र ‘बन्द’ हुन सक्ने उल्लेख गर्दै सहमतिको वातावरण बनाउन आफू पछाडि हटेको बताए। उनका अनुसार दोलखामा भीमबहादुर तामाङको राजनीतिक योगदानप्रति सम्मान जनाउन तथा उनका सपनालाई पुरा गर्न कांग्रेसले एकतापूर्वक अघि बढ्नुपर्नेछ।

दोलखामा नेताहरूबीच आआफ्नै दाबी भइरहेकामा कांग्रेसले अझै प्रतिनिधिसभा उमेदवार सिफारिस गर्न सकेको छैन। लामासँगै केन्द्रीय सदस्य कुन्दनराज काफ्ले र अजयबाबु शिवाकोटी पनि आकांक्षी सूचिमा छन्। त्यस्तै, पूर्वसभापति ताराबहादुर कोइराला, वर्तमान सभापति बर्मा लामा, पूर्वसभापति रुद्रबहादुर खड्का तथा प्रभुराम श्रेष्ठ पनि सम्भावित दावेदार मानिन्छन्।

राष्ट्रियसभामा जाने प्रस्ताव वर्तमान सभापति बर्मा लामाले स्वीकृत गरिसकेका छन् भने पूर्वसभापति खड्काले पनि त्यसमा रुचि देखाएका छन्। बाँकी नेताहरू प्रतिनिधिसभा उम्मेदवारीका इच्छुक छन्। काफ्ले वाग्मती प्रदेशका पूर्वमन्त्री समेत हुन्।

अघिल्लो निर्वाचनमा कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच गठबन्धन रहेकामा दोलखा माओवादीको भागमा परेको थियो। गठबन्धनबाहिरका नेताहरूको आग्रह हुँदाहुँदै पनि लामाले त्यतिबेला चुनाव लड्न अस्वीकार गरेका थिए।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ३ : २७ बजे