काठमाडौं । विदेशमा रहेका नेपालीलाई मतदान अधिकार सुनिश्चित नगरे आन्दोलनमा उत्रिने चेतावनी जेनजी अभियन्ताले दिएका छन्। स्रोत–साधन अभावको बहानामा निर्वाचन आयोगले बारम्बार पन्छिन नमिल्ने भन्दै उनीहरूले शुक्रबार (मंसिर २६) आयोगका पदाधिकारीलाई ध्यानाकर्षण गराएका हुन्।
अभियन्ताहरूले विदेशमा रहेका २० लाखभन्दा बढी नेपालीको मताधिकार सुनिश्चित गर्ने स्पष्ट ग्यारेन्टी सरकारले तत्काल दिनुपर्ने माग गरेका छन्। जेनजी अभियन्ता शिरीष शाहीले एउटा राजनीतिक दलले पाउने मतभन्दा बढी संख्यामा नेपाली विदेशमा रहँदा पनि उनीहरू मतदान अधिकारबाट वञ्चित हुनु अन्याय भएको टिप्पणी गरे।
जेनजी अभियन्ता प्रकृति ढकालले ‘नेपाली पुगेको ठाउँसम्म नेपाल पुगेको’ भन्दै प्रवासमा रहेका नागरिकलाई मताधिकार नदिन राज्य असफल भएको दाबी गरिन्। उनले स्रोत–साधनको कारण देखाउँदै विषय टार्न नहुने चेतावनी दिँदै, माग बेवास्ता भए आन्दोलनमा जान बाध्य हुने बताइन्।
अभियन्ताहरूले विश्वका ११५ भन्दा बढी देशले विदेशस्थित नागरिकलाई मतदान सुविधा दिएको उदाहरण पेश गर्दै नेपालले पनि यसमा पछि पर्न नहुने विचार राखे। उनीहरूले अन्तरजिल्ला मतदानको व्यवस्था तथा विदेशमा रहेकाहरूका लागि मताधिकार सुनिश्चित गर्न आयोगलाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन्।










प्रतिक्रिया