Logo

राजनीति

कांग्रेस डडेलधुराले प्रतिनिधिसभा चुनावका लागि देउवाको एकल नाम सिफारिस



काठमाडौं । नेपाली कांग्रेस डडेलधुरा जिल्ला कार्यसमितिले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टी सभापति शेरबहादुर देउवाको एकल नाम सिफारिस गरेको छ। प्रत्यक्षतर्फको उम्मेदवारमा देउवाको मात्र नाम प्रस्ताव गरिएको जिल्ला सभापति भीमबहादुर साउदले पुष्टि गरे।

साउदका अनुसार जिल्लावासीकै आग्रह र सर्वसम्मत निर्णयका आधारमा देउवाको नाम अगाडि सारिएको हो। उनले देउवाले आफू चुनाव लड्ने वा नलड्ने बारे कुनै निर्देशन नदिएको बताउँदै हालसम्म सार्वजनिक रूपमा उम्मेदवारी नत्यागेका कारण एकल सिफारिस गरिएको जानकारी दिए।

उनले डडेलधुरासहित सुदूरपश्चिम र मुलुकको नेतृत्वदायी भूमिकामा देउवाको योगदान रहेको उल्लेख गर्दै अन्य पार्टीबाट पनि देउवाको प्रतिद्वन्द्वी नदेखिएको परिस्थितिमा जिल्लाबाट वैकल्पिक नाम सिफारिस गर्ने प्रश्न नै नभएको बताए।

शेरबहादुर देउवा ०४८ सालदेखि डडेलधुराबाट लगातार प्रतिनिधिसभा चुनाव जित्दै आएका छन्। उनले पाँच कार्यकालमा देशको प्रधानमन्त्रीको जिम्मेवारी सम्हाली चुकेका छन्।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहिबार  ५ : १७ बजे