Logo

विश्व

गोवा नाइटक्लबका मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ



गोवा, भारत। गोवाको अर्पोरा गाउँस्थित बर्च बाइ रोमियो लेन नाइटक्लबमा शनिबार राति लागेको भीषण आगलागी प्रकरणमा क्लबका मालिक सौरभ र गौरव लूथरालाई थाइल्यान्डको फुकेटमा नियन्त्रणमा लिइएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार आगलागी भएको केही घण्टामै भारतबाट भागेर उनीहरू थाइल्यान्ड पुगेका थिए। भारतीय प्रहरीको अनुरोधपछि थाइल्यान्ड प्रहरीले उनीहरूलाई पक्राउ गरेको बताइएको छ।

घटनामा पाँच नेपालीसहित २५ जनाको मृत्यु भएको छ। मृतकमध्ये पाँच जना पर्यटक र २० जना क्लबका कर्मचारी रहेका छन्। आगलागी हुँदा क्लबमा करिब १०० जना उपस्थित थिए।

जाँचमा क्लबको सजावटमा अत्यधिक प्रज्वलनशील सामग्री प्रयोग गरिएको र आवश्यक सुरक्षा मापदण्ड पालना नभएकाले आगो तीव्र रूपमा फैलिएको प्रारम्भिक तथ्यांकले देखाएको छ। दुर्घटनाको बेला फायर एक्स्टिङ्ग्विसर र सुरक्षा अलार्म समेत कार्यरत नभएको बताइएको छ। साथै नाइटक्लबसम्म पुग्ने साँघुरो मार्गका कारण दमकल ४०० मिटर टाढा रोकिनुपरेको र उद्धारमा ढिलाइ भएको प्रहरीको भनाइ छ।

गोवा प्रहरीले घटनासम्बन्धी चार कर्मचारीलाई यसअघि नै पक्राउ गरिसकेको छ भने लूथरा दाजुभाइका व्यवसायिक साझेदार अजय गुप्तालाई दिल्लीमा नियन्त्रणमा लिइएको छ। लूथरा दाजुभाइमाथि लापरवाही र हत्यासम्बन्धी मुद्दा दर्ता गरिएको भारतीय प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहिबार  २ : १७ बजे