Logo

राजनीति

प्रचण्ड : जलवायु परिवर्तनका जोखिमको अग्रपंक्तिमा नेपाल



काठमाडौं। नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल जलवायु परिवर्तनका कारण सिर्जित जोखिमको अग्रपंक्तिमा रहेको बताएका छन्। २३औँ विश्व पर्वत दिवसको अवसरमा जारी सन्देशमा उनले हिमशृंखला र पर्वतीय पारिस्थितिकी तीव्र रूपमा प्रभावित भएको उल्लेख गरे।

प्रचण्डका अनुसार जलवायु परिवर्तनका कारण हिमनदी तीव्र गतिमा पग्लिरहेको, पहाड–पर्वतको पारिस्थितिक प्रणाली असन्तुलित बन्दै गएको र यसको प्रत्यक्ष असर रूपमा बाढी, खडेरी, माटो क्षय तथा खाद्य असुरक्षा बढ्दै गएको छ। नेपालका ८० प्रतिशतभन्दा बढी भूभाग पर्वतीय भएकाले जोखिम अझ गम्भीर रहेको उनले बताए।

उनले विकसित देशहरूको उच्च कार्बन उत्सर्जनले अल्पविकसित राष्ट्रहरूमा गम्भीर प्रभाव पारेको आरोप लगाउँदै यसलाई जलवायु न्यायसँग सम्बन्धित विषयको रूपमा प्रस्तुत गरे।

प्रचण्डले पर्वत संरक्षण, जलवायु अनुकूलन र न्यूनीकरणका कार्यक्रमका लागि आवश्यक कोष सुनिश्चित हुनु आवश्यक रहेको उल्लेख गर्दै नेपालले अन्तर्राष्ट्रिय समुदायसमक्ष निरन्तर आग्रह गर्दै आएको बताए। उनले अल्पविकसित राष्ट्रहरूको चासोलाई अन्तर्राष्ट्रिय प्राथमिकतामा राखिनुपर्ने आवश्यकता दोहोर्‍याए।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहिबार  १२ : ३७ बजे