Logo

समाचार

नयाँ बसपार्कमा यात्रुलाई हैरान पार्ने ४६ जना पक्राउ



काठमाडौँ। काठमाडौँको नयाँ बसपार्क क्षेत्रमा यात्रुलाई झोलाच्यात्ने तथा हैरान पार्ने गतिविधिमा संलग्न ४६ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी प्रभाग नयाँ बसपार्कको संयुक्त टोलीले बुधबार साँझ गोँगबु क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये ट्याक्सी चालक, होटल सञ्चालक तथा होटलका कर्मचारीसमेत छन्। उनीहरू राजधानी भित्रिने यात्रुहरूलाई जबर्जस्ती झोला तान्ने, सेवा दिने नाममा दबाब सिर्जना गर्ने तथा शंकास्पद व्यवहार देखाइ यात्रुलाई दुःख दिने कार्यमा संलग्न रहेको पुष्टि भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

भट्टराईका अनुसार यसअघि पनि सम्झाइबुझाइ गरी छाडिएका केही व्यक्तिले गतिविधि दोहोर्याएको पाइएपछि प्रहरीले आज मात्रै ४६ जनालाई नियन्त्रणमा लिएको हो। उनले यस्ता कार्यविरुद्धको प्रहरी अभियान निरन्तर जारी रहने बताएका छन्।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहिबार  १२ : २९ बजे