हनोइ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भियतनामी चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीबीच आज हनोइमा भएको बैठकमा दुई देशबीच व्यापार तथा लगानी साझेदारी विस्तारबारे छलफल गरिएको छ।
बैठकमा थाइल्यान्ड र भियतनामका लागि नेपाली राजदूत धनबहादुर ओलीले नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको संदर्भमा दुवै देशले आर्थिक सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताए। उनले विश्व अर्थतन्त्रमा देखिएका चुनौतीका बीच नेपालले निर्यातमुखी उद्योग, उत्पादनमूलक क्षेत्र, आइसीटी, फार्मास्युटिकल्स तथा जडीबुटीमा भियतनामी लगानीको स्वागत गर्ने उल्लेख गरे। पर्यटन क्षेत्रमा पनि दुई देशबीच ठूलो सम्भावना रहेको उनको भनाइ थियो।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको दाबी गर्दै भियतनामी लगानीकर्तालाई पर्यटन, केबलकार, रिसोर्ट, साहसिक तथा वेलनेस क्षेत्र, हस्तकला, चिया, कफी र जडीबुटीमा लगानीको अवसर खोज्न आग्रह गरे। उनले भियतनामका कृषि सामग्री, सी–फूड र इलेक्ट्रोनिक्सको नेपालमा ठूलो बजार रहेको पनि उल्लेख गरे।
भियतनामी चेम्बरका उपकार्यकारी अध्यक्ष न्गुयेन क्याङ भिनले दुई देशबीच व्यापार तथा लगानी सहकार्य हाल न्यून भए पनि विस्तारको सम्भावना ठूलो रहेको बताउँदै आगामी दिनमा आर्थिक साझेदारीलाई मजबुत बनाउन इच्छुक रहेको धारणा व्यक्त गरे।










प्रतिक्रिया