काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्च–आय वर्गका विदेशीलाई लक्षित ‘ट्रम्प गोल्ड कार्ड’ योजनाको औपचारिक सुरुआत गरेका छन्। ट्रम्पले बुधबार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत उक्त योजनाले योग्य आवेदकलाई भिसादेखि नागरिकतासम्मको प्रत्यक्ष मार्ग उपलब्ध गराउने दाबी गरेका हुन्।
योजनाअनुसार कम्तीमा १० लाख डलर भुक्तानी गर्ने विदेशी नागरिकले अमेरिकी भिसा पाउनेछन्। ट्रम्पले ‘गोल्ड कार्ड’ले अमेरिकी कम्पनीहरूलाई आवश्यक प्रतिभा कायम राख्न सहयोग गर्ने बताएका छन्।
यस योजनाको घोषणा यसै वर्षको सुरुमा गरिएको थियो। ‘गोल्ड कार्ड’लाई अमेरिकी भिसाको एक नयाँ श्रेणीका रूपमा व्याख्या गरिएको छ, जसका लागि आवेदकले अमेरिकालाई ‘महत्त्वपूर्ण लाभ’ पुर्याउने प्रमाण पेश गर्नुपर्नेछ।
यसबीच, अमेरिकी सरकारले अध्यागमन कडाइ गर्ने नीतिहरू अघि सारिरहेका बेला यो योजना सार्वजनिक भएको हो। नयाँ पद्धतिअन्तर्गत कार्य (वर्क) भिसाको शुल्क वृद्धि र कागजातविहीन आप्रवासी निष्कासनजस्ता कडाइका प्रावधानसमेत समावेश छन्।
योजनाअनुसार व्यवसाय संस्थाले कर्मचारी प्रायोजन गर्न चाहे २० लाख डलरसहित अतिरिक्त शुल्क बुझाउनुपर्नेछ। कार्डको ‘प्लाटिनम’ संस्करण पनि उपलब्ध गराइने छ, जसले करसम्बन्धी विशेष सुविधा दिनेछ। प्लाटिनम कार्डको लागत ५० लाख डलर तोकिएको छ।
फेब्रुअरीमा प्रारम्भिक घोषणा भएदेखि नै योजनाको आलोचना हुँदै आएको छ। डेमोक्रेटिक नेताहरूले यसले धनी वर्गलाई मात्र लाभ पुर्याउने भन्दै विरोध गरेका छन्।











प्रतिक्रिया