Logo

Breaking News 1

एमाले निकट आदिवासी जनजाति महासंघमा विवाद चर्कियो



काठमाडौं । नेकपा एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघभित्र अध्यक्ष पासाङ शेर्पालाई लिएर डेढ वर्षदेखि जारी विवाद अझ तीव्र बनेको छ । महासचिव पेमा गुरुङका अनुसार फौजदारी मुद्दामा अदालतबाट तीनै तहमा दोषी ठहर भइसकेका शेर्पालाई संगठनको शीर्ष जिम्मेवारीमा राखिराख्न केही नेताहरू सक्रिय भएपछि संगठनभित्र नैतिकता, अनुशासन र प्रक्रियाको गम्भीर प्रश्न उठेको छ ।

उनले सार्वजनिक पद धारण गर्न अयोग्य ठहर भएको व्यक्तिलाई जोगाउन खोजिँदा सोझा कार्यकर्तालाई गुटगत भिडन्तको सिकार बनाउन खोजिएको आरोप लगाए । गुरुङले पासाङ शेर्पा सम्बन्धी मुद्दा लगायत महासंघको प्रतिनिधि चयन प्रक्रियामा समेत व्यापक अनियमितता र मनपरी चलिरहेको दाबी गरे ।

उनका अनुसार ७ वर्षको न्यूनतम योग्यता नपुगेका २ देखि ५ वर्ष पुगेका सदस्यलाई प्रतिनिधि बनाइने, पदाधिकारीहरूलाई सहभागी हुन नदिने, र यस्तो निर्णय बैठकमा नभई तीनदिन पछि सूचना टाँसेर गर्ने जस्ता कार्यले संगठन विभागकै निष्पक्षता प्रश्नमा परेको छ । उनले यसलाई ‘बन्द कोठामा बसेर बनाइएको प्रतिनिधि सूची’ भन्दै संगठनलाई कमजोर बनाउने प्रवृत्ति भएको टिप्पणी गरे ।

उनका अनुसार दाङ, ओखलढुंगा, धनकुटा लगायत विभिन्न जिल्ला तथा महासंघका शाखाहरूमा प्रतिनिधि छनोटमा पार्टीले तोकेको विधि र मान्यता पूर्ण रूपमा बेवास्ता गरिएको छ । योग्यता नपुग्ने पाँच जनालाई समेत दाङमा प्रतिनिधि बनाइएको भन्दै उनले यसबारे उजुरी परे पनि सुनुवाइ नभएको बताए ।

गुरुङले महासंघका वैधानिक पदाधिकारीलाई छेउमा राखेर मनोनित केन्द्रीय सदस्यलाई प्राथमिकता दिइनुले संगठनभित्र गम्भीर राजनीतिक हस्तक्षेप भएको संकेत मिल्ने बताए । गुरुङले पासाङ शेर्पालाई अध्यक्षतामा राखिराख्न खोज्ने समूह र नैतिकताका आधारमा राजीनामा गर्नुपर्ने पक्षबीचको रस्साकस्सी नै आजको विवादको मूल कारण भएको बताए ।

“हामी कम्युनिस्ट कार्यकर्ताका लागि अनुशासन पहिलो प्राथमिकता हो, तर चारित्रिक रूपमा स्खलित प्रमाणित व्यक्ति जोगाउने अभियान चलिरहेछ,” उनले भने, “यो सोझा कार्यकर्तालाई गुटगत को सिकार बनाउने काम हो ।”

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहिबार  १० : १७ बजे