Logo

खेलकुद

लुम्बिनी लायन्सले काठमाण्डूलाई हराउँदै दोस्रो क्वालिफायरमा विराटनगरसँग भिड्ने



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटरमा लुम्बिनी लायन्सले काठमाण्डू गोर्खाजलाई चार विकेटले हराउँदै दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँगको भिडन्त पक्का गरेको छ। हारसँगै काठमाण्डूको प्रतियोगितामा यात्रा समाप्त भएको छ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा काठमाण्डूले निर्धारित ११२ रनको लक्ष्य लुम्बिनीलाई दिन नसक्दा लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। लुम्बिनीका ओपनर डी‘एर्सी शर्टेले ३४ बलमा ३३ रन बनाउँदा सन्दीप जोराले २३ रन थपे। कप्तान रोहितकुमार पौडेलले १८ रन बनाए भने निरोसान डीकवेलाले १४ रन योगदान गरे। काठमाण्डूका लागि सन्तोष यादवले दुई विकेट लिए।

काठमाण्डूले टस जितेर ब्याटिङमा आए पनि १९.१ ओभरमा सबै विकेट गुमाउँदै १११ रनमा रोकियो। सन्तोष यादवले सर्वाधिक २२ रन बनाएका थिए। काठमाण्डूको शीर्षक्रम ब्याट्सम्यान बेन चाल्र्सवर्थ, आकाश त्रिपाठी र सन्नी पटेल क्रमशः ४, १ र ७ रनमा आउट भए।

लुम्बिनीका शेर मल्लले तीन विकेट लिए भने कप्तान रोहितकुमार पौडेलले चार ओभरमा तीन विकेट हात पारे। रुबेन ट्रम्पेलमनले दुई विकेट लिए। अभिशेष गौतमले एक विकेट लिए।

एनपीएलको इतिहासमा यी दुवै टिमले पहिलोपटक प्लेअफमा प्रतिस्पर्धा गरेका हुन्। सात खेलबाट काठमाण्डूले १० अंकसहित तेस्रो स्थान सुरक्षित गरेको थियो भने लुम्बिनीले आठ अंकसहित चौथो स्थानमा रहँदै प्लेअफमा प्रवेश गरेको थियो।

दोस्रो क्वालिफायर खेल बिहीबार हुने तालिका तय भएको छ। विजेता टिमले शनिबार उपाधि भिडन्तका लागि सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरविरुद्ध ७७ रनको जित निकालिसकेको छ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ७ : २८ बजे