Logo

खेलकुद

तुल्सीलाल चेसमा तीन टोलीको उपाधि दाबि



ललितपुर । ललितपुरमा जारी ८ औं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिप चौथौं चरण सम्मको खेलमा महालक्ष्मी नगरपालिका, ललितपुर महानगरपालिका र दोलखा बुद्धिचाल संघले उपाधि माथि दाबि प्रस्तुत गरेका छन् ।

प्रतियोगिताको चार चरण खेल सम्पन्न हुँदा शीर्ष तिन टोलीले समान ३ जीत र एक बराबरी नतिजा निकाल्दै समान ७ अंक बनाएका छन् ।
महालक्ष्मी नगरपालिकाले प्रतिस्पर्धाको तेस्रो चरणमा कुमारी पाटी चेस क्लबलाई ४–० ले पाखा लगाए । जसमा क्षितिज भण्डारीले भवानी लिम्बुलाई, सुरोज महर्जनले सोम आलेलाई, शैलेन्द्र न्यौपानेले रे राईलाई तथा अशोक मोहन श्रेष्ठले टिमोन राईलाई हराएका थिए ।

यस्तै चौथो खेलमा ललितपुर महानगरपालिका टिमसँग २–२ स्कोरको बराबरी खेलेका छन् । जसमा सुरोज महर्जनले प्रकाशचन्द्र नेपाललाई तथा कमल श्रेष्ठले सिएमए सजिन महर्जनलाई पराजित गरेका छन् । टोलिमा क्षितिज भण्डारी पुरुषोत्तम सिलवालसँग, शैलेन्द्र न्यौपानेले मुहान नरसिंह श्रेष्ठसँग हार ब्यहोरेका छन् । यसैगरी ललितपुर महानगरपालिका टिमले महालक्ष्मी नगरपालिका सँग बराबरी खेल्नु पूर्व थापाथली चेस पार्कलाई ३.५–०.५ स्कोरले पराजित गर्न सफल भएका थिए ।

जसमा पुरुषोत्तम सिलवालले सुश्रुत दाहाललाई, महानरसिंह श्रेष्ठले सबिनचन्द्र घिमिरेलाई तथा धिरेन राईले सुजन काफ्लेलाई पराजित गरे भने प्रकाश चन्द्र नेपाल र सुशील चौधरी बीचको खेल बराबरीमा टुंगिएको थियो । अर्को शीर्ष टोलि दोलखा जिल्ला संघले तेस्रो चरणमा दोलखा चेस होम माथि २.५–१.५ को विजयी नतिजा निकाल्न सफल भएका छन् ।

जसमा निकेन कुसाथाले ज्वाला इम्बुङ्गलाई, बद्रीलाल नेपालीले राजन सुबेदीलाई हराए । कृष्ण थापा र पुरुषोत्तम चौलागाईको खेल बराबरीमा टुङ्गिए भने रिसोन थापा चैं रुपेश जैसवालसँग हार्न पुगे । यस्तै चौथो खेल थापाथली चेस पार्कसंग २–२ को बराबरी नतिजा निकालेका छन् । जसमा रिसोन थापाले सुश्रुत दाहाललाई, कृष्ण थापाले सुशील चौधरीलाई हराए भने निकेनले आशीष फूँयाल संग र बद्रीले सबिनचन्द्र घिमिरेसँग पराजित हुन पुगे ।

स्पर्धामा कोशी प्रदेश बुद्धिचाल संघ र दोलखा चेस होम्स् समान ६ अंक जोडेर चौथो तथा पाँचौं स्थानमा उभिएका छन्। यस्तै थापाथली चेस पार्क र सुदूरपश्चिम चेस संघ समान ५ अंक बनाएर पछ्याइरहेका छन् । खेल पूर्व स्थानीय खेलप्रेमी सम्झना ल्याबोरोटोरीका प्रमुख उर्दीप जोशीले सेतो गोटी चालेर खेल शुरु गरेका थिए । प्रतियोगिताका विजयी टिमहरुले नगद ५ लाख १० हजार पुरस्कार बाँडेर लिने छन् । यो प्रतिस्पर्धा २५ गते सम्म चल्नेछ भने ७ चरणको लिग खेल पश्चात विजयी टोली घोषित हुनेछ ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ७ : ३३ बजे