Logo

विश्व

ट्रम्पको मध्यस्थतामा भएका युद्धविराम किन भङ्गिन थाले ?



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा गरिएका आठ वटा युद्धविराम सम्झौतामध्ये थाइल्यान्ड–कम्बोडियाबीचको सम्झौता भङ्गिएको छ। दक्षिण–पूर्वी एसियामा दुवै देशबीच पुनः हिंसा शुरु भएसँगै १२ जनाभन्दा बढीको मृत्यु भएको छ।

सीमावर्ती दुई प्राचीन मन्दिरसम्बन्धी विवादका कारण विगत केही दिनयता दुवै पक्षले आक्रमण बढाएका छन्। हजारौँ मानिस विस्थापित भएका छन्। मे महिनामा पनि पाँच दिनसम्म चलेको लडाइँमा ५० भन्दा बढीको मृत्यु र ३ लाखभन्दा बढी नागरिक विस्थापन भएका थिए। अक्टोबरमा ट्रम्पको उपस्थितिमा युद्धविराम भएको थियो।

ट्रम्पले दोस्रो कार्यकाल शुरू भएपछि नोबेल शान्ति पुरस्कारलाई प्राथमिकता दिँदै विभिन्न देशहरूलाई व्यापार दबाबमार्फत युद्धविराममा ल्याएको दाबी गर्दै आएका छन्। उनको दाबीअनुसार एक वर्षमा थाइल्यान्ड–कम्बोडिया, आर्मेनिया–अजरबैजान, रुवान्डा–डीआर कङ्गो, इजरायल–इरान, इजरायल–हमास, इजिप्ट–इथियोपिया, सर्बिया–कोसोभो र भारत–पाकिस्तानबीचको संघर्ष रोकिन मद्दत पुगेको थियो। तर यस वर्ष ट्रम्प नोबेल शान्ति पुरस्कारका लागि छनोट भएनन्।

यी सम्झौता धेरै ठाउँमा टिकाउ नभएको देखिएको छ। गाजा क्षेत्रमा इजरायल–हमासबीच युद्धविराम घोषणा भए पनि भिडन्त रोकिएको छैन। तेल अभिव र हमासबीच फेरि झडप भइरहेको छ र पुनर्निर्माण प्रक्रिया अघि बढ्न नसकेको बताइएको छ।

इजरायल–इरानबीचको तनाव पनि रोकिएको छ भन्ने ट्रम्पको दाबी विवादित छ। युद्धविरामअघि अमेरिकी आदेशमा इरानका तीन आणविक स्थलमा आक्रमण भएको थियो, जसको प्रतिकारमा इरान आक्रामक बनेको थियो।

सर्बिया–कोसोभोबीच ट्रम्पले पहिलो कार्यकालमा गराएको मध्यस्थतापछि पाँच वर्षसम्म अपेक्षाकृत स्थिरता कायम छ। तर रुवान्डा र डीआर कङ्गोबीच जुन महिनामा भएको सम्झौता पनि कमजोर देखिँदै कङ्गोले रुवान्डामाथि हमला आरोप लगाएको छ।

भारत–पाकिस्तानबीच कश्मीरमा ‘अपरेशन सिन्दुर’पछि अमेरिकाको हस्तक्षेपमा रातारात युद्धविराम भएको ट्रम्पको दाबी भने सबैभन्दा विवादित छ। भारतले ट्रम्पको मध्यस्थता अस्वीकार गरेको छ भने पाकिस्तानले अमेरिकाको भूमिकालाई स्वीकारेको छ।

आर्मेनिया–अजरबैजानबीचको विवाद पनि निरन्तर रहँदै आएको छ। ब्रसेल्समा भएको साझेदारी परिषद्को निर्णयप्रति अजरबैजानले आपत्ति जनाउँदै आर्मेनियाको संविधान संशोधन र कराबाखबाट आर्मेनियालीहरूको विस्थापन विषयलाई विवादका मुख्य कारणका रूपमा उठाइरहेको छ।

ट्रम्पद्वारा गराइएका युद्धविरामहरू विभिन्न कारणले टिकाउ बन्न नसकेका देखिएका छन्, र धेरै क्षेत्रमा पुनः तनाव बढ्दै गएको छ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ५ : ३१ बजे