पोखरा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस पर्वतले उम्मेदवारी आकांक्षीबाट पाँच हजार रुपैयाँ शुल्क लिने निर्णय गरेको छ। मंसिर २३ गते बसेको जिल्ला समितिको बैठकले प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका आकांक्षीको नाम दर्ताका क्रममा उक्त शुल्क तोक्ने निर्णय गरेको हो।
जिल्लामा एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको छ। कांग्रेसले आकांक्षीहरूको नाम दर्ता गर्ने प्रक्रिया बुधबार (मंसिर २४) सुरु गर्दै छ। नाम सिफारिस चरणमै शुल्क तोकिएको भन्दै आर्थिक रूपमा कमजोर कार्यकर्तालाई प्रतिस्पर्धाबाट बाहिर राख्ने प्रयास भएको आलोचना सार्वजनिक भएको छ।
पार्टीका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी र नवराज गुरुङलगायत नेताहरूले पत्रकार सम्मेलनमार्फत पुनः उम्मेदवारी दिन चाहना व्यक्त गरिसकेका छन्। जोशी ०५६, ०६४, ०७०, ०७४ र ०७९ मा प्रतिनिधिसभा चुनाव लडिसकेका छन्। लगातार तीन पटक चुनाव जितेका उनले २०७४ र २०७९ मा भने पराजय व्यहोरेका थिए।










प्रतिक्रिया