Logo

राजनीति

गण्डकी प्रदेशमा अस्पताल अध्यक्ष नियुक्ति : कांग्रेस–एमाले दुवैको भागबण्डा



पोखरा । गण्डकी प्रदेश सरकारले मातहतका ११ अस्पतालमा दलीय भागबण्डाका आधारमा अध्यक्ष नियुक्त गरेको छ। मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले विभिन्न अस्पतालका अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। कांग्रेस नेतृत्वको सरकार र स्वास्थ्य मन्त्रालय एमालेको भागमा परेपछि अस्पताल अध्यक्ष पद दुवै दलबीच बाँडफाँड भएको छ।

सरकारका प्रवक्ता तथा आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङका अनुसार मध्यविन्दु, लमजुङ, तनहुँ, पर्वत, मुस्ताङ र बुर्तिवाङ अस्पतालमा कांग्रेस कोटाले नेतृत्व पाएको छ। यस्तै धौलागिरी प्रादेशिक, म्याग्दी, मनाङ, स्याङ्जा र लेखनाथस्थित जनरल तथा सरुवा रोग अस्पताल एमाले कोटामा परेको छ।

नियुक्त भएका अध्यक्षमा मध्यविन्दु अस्पतालमा बालकृष्ण घिमिरे, मुस्ताङ अस्पतालमा तेन्जिङ थकाली, लमजुङ अस्पतालमा विजय गुरुङ, पर्वत अस्पतालमा यामबहादुर नेपाली, दमौली अस्पतालमा कमलामोहन वाग्ले, बुर्तिवाङ अस्पतालमा कमल भुषाल, लेखनाथस्थित जनरल तथा सरुवा रोग अस्पतालमा ऋषिराज जम्मरकट्टेल, स्याङ्जा अस्पतालमा डिलकुमार भुजेल, बेनी अस्पतालमा डेकबहादुर बानियाँ, मनाङ अस्पतालमा अर्विण गुरुङ र धौलागिरी प्रादेशिक अस्पतालमा श्रीप्रसाद शर्मा छन्।

‘गण्डकी प्रदेश अस्पताल व्यवस्थापन समिति गठन आदेश, २०८२’ अनुसार प्रत्येक प्रदेश मातहतका अस्पतालमा अध्यक्षसहितको व्यवस्थापन समिति गठन हुने व्यवस्था छ। समितिको अध्यक्ष प्रदेश मन्त्रिपरिषद्ले नियुक्त गर्ने र अन्य सदस्य स्वास्थ्य मन्त्रालयले मनोनयन गर्ने प्रावधान छ। अस्पतालको शय्या क्षमताअनुसार समितिमा ७ देखि ९ सदस्य रहने व्यवस्था छ। गण्डकी प्रदेश मातहत २ आयुर्वेदसहित १६ अस्पताल सञ्चालनमा छन्।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ८ : ०९ बजे