Logo

मुख्य समाचार

आरजु राणा देउवा कैलाली–५ बाट प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस



काठमाडौं । नेपाली कांग्रेस नेतृ तथा पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवा आगामी प्रतिनिधिसभा चुनावका लागि कैलाली–५ बाट उम्मेदवारमा सर्वसम्मत सिफारिस भएकी छन्।

कांग्रेस कैलाली–५ का क्षेत्रीय सभापति भीम पडालका अनुसार क्षेत्रीय कार्यसमितिको सर्वसम्मत निर्णयबाट राणासहित चार जनाको नाम प्रतिनिधिसभाका लागि केन्द्रमा पठाइएको हो। अन्य सिफारिसमध्येका नाममा कैलालीका पूर्वसभापति नरनारायण शाह, नेता डिल्लीराज पन्त र धनगढीका पूर्वमेयर तथा केन्द्रीय सदस्य नृपबहादुर बड रहेका छन्।

त्यसैगरी राष्ट्रिय सभा सदस्यका लागि रीता भण्डारी, हरिश खड्का र रामचन्द्र ओझाको नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको सभापति पडालले जानकारी दिए।

आरजु राणा २०७४ को प्रतिनिधिसभा चुनावमा यही क्षेत्रबाट पराजित भएकी थिइन्। २०७९ को चुनावमा भने उनी समानुपातिकतर्फबाट सांसद बनेकी थिइन्। कांग्रेसले यसपटक समानुपातिकबाट निर्वाचित सांसदलाई पुनः समानुपातिक सूचीमा नराख्ने नीति अपनाएपछि राणा प्रत्यक्षतर्फ पहिलो प्राथमिकतामा सिफारिस भएकी हुन्।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ६ : ०४ बजे