काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिमले विराटनगर किंग्सलाई १५६ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५५ रन जोड्यो।
सुदूरपश्चिमका ओपनर विनोद भण्डारीले ५२ बलमा तीन चौका र दुई छक्कासहित ६३ रन बनाए। प्रतियोगिताको दोस्रो संस्करणमा उनको यो दोस्रो अर्धशतक हो। उनलाई १९औँ ओभरको अन्तिम बलमा प्रतिश जिसीले साम हेजलेटको हातबाट क्याच गराए।
टिमका लागि सेल्डन ज्याक्सनले २०, आरिफ सेखले २०, हर्मित सिंहले १४ र इशान पाण्डेले १३ रन योगदान गरे। कप्तान दीपेन्द्रसिंह ऐरी ३ रनमा रनआउट भएका थिए।
विराटनगरका मर्चेन्ट डी लांगे र प्रतिश जिसीले दुई–दुई विकेट लिए। सूर्य तामाङ र साम हेजलेटले एक–एक विकेट हात पारे।
लिग चरणमा दुवै टोलिले शीर्ष दुई स्थान सुनिश्चित गरेका थिए। सुदूरपश्चिमले सात खेलमा १२ अंक जोडेको थियो भने विराटनगरको १० अंक थियो। आजको खेलको विजेताले सोझै फाइनल प्रवेश सुनिश्चित गर्नेछ। हार्ने टिमले बुधबार हुने इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ।










प्रतिक्रिया