Logo

मुख्य समाचार

लोडसेडिङ रोक्न कुलमान घिसिङको भारतसँग सहजीकरणको आग्रह



काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नेपाल–भारत विद्युत् व्यापारमा रहेको वार्षिक स्वीकृति प्रक्रियामा परिवर्तन गर्न भारतलाई आग्रह गरेका छन्। सिंहदरबारमा मंगलबार (मंसिर २३) भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरसँग भएको भेटमा घिसिङले डे-अहेड तथा रियल–टाइम मार्केटमार्फत विद्युत् निर्यात गर्दा हरेक वर्ष अनुमति लिनुपर्ने व्यवस्थालाई एकपटक स्वीकृतिमा रूपान्तरण गर्न अनुरोध गरे।

घिसिङले भारतले पुसको दोस्रो सातापछि नेपाललाई दिने विद्युत् निर्यात स्वीकृति नवीकरण नगरेकाले हिउँदमा निरन्तर २४ घण्टा बिजुली आयात गर्न व्यवस्था मिलाइदिन माग गरे। नेपालले हाल पुस दोस्रो हप्तासम्मका लागि मात्र आयात स्वीकृति पाएको छ।

उक्त भेटमा उनले भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशतर्फ थप २० मेगावाट विद्युत् निर्यात गर्न आवश्यक अनुमतिका लागि पनि आग्रह गरे। तल्लो अरुण र अरुण तेस्रो जलविद्युत् आयोजनामा वन क्षेत्र प्रयोगसम्बन्धी समस्यामा समन्वय भइरहेको जानकारी दिँदै घिसिङले प्रसारण लाइन निर्माणका लागि भारतीय एक्जिम बैंकको लाइन अफ क्रेडिटबाट सहयोग वृद्धि गर्न प्रस्ताव गरे।

अतिरिक्त सचिव महावरले नेपालमा भारतीय कम्पनीले निर्माण गरिरहेका जलविद्युत् आयोजनामा देखिएका समस्या समाधानमा सहयोग गर्न आग्रह गर्दै द्विपक्षीय विद्युत् व्यापार र प्रसारण पूर्वाधार विस्तारले नयाँ चरणमा प्रवेश गरेको उल्लेख गरे।

बैठकमा महाकाली सिँचाइ तेस्रो चरणमार्फत सुख्खायामा पानी पठाउने, भारत–नेपाल द्विपक्षीय संयन्त्रको बैठक आयोजना गर्ने, तथा अरुण तेस्रो र तल्लो अरुण आयोजनामा वन क्षेत्र प्रयोगसम्बन्धी विवाद सहितका मुद्दामा छलफल भएको ऊर्जा मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ६ : १५ बजे