Logo

समाचार

‘केपी ओलीलाई महिलाहरुमाथि अपमान गर्ने अधिकार कसले दियो ?’



काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संघीय लोकतान्त्रिक गणतन्त्रका पटक–पटक प्रधानमन्त्री भइसकेका ओलीले महिलाहरुप्रति अपमान गर्ने गरेको बताएकी छन् ।

मंगलबार नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा महिला नेतृहरुको अन्तर संवाद कार्यक्रममा बोल्दै ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे प्रयोग गरेको शब्द चयन अनुचित भएको उनले बताएकी हुन् ।

उनले भनिन्,‘संघीय लोकतान्त्रिक गणतन्त्रको पटक पटक प्रधानमन्त्री भएका हाम्रो अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति, देशको संरक्षक, संविधानको संरक्षक विद्यादेवी भण्डारीलाई गरेको सम्मान यही हो? धामी–झाँक्री भनेको के हो ? यस्तो अपमान गर्न पाइन्छ ?’ उनले अनुसार यस्तो अभिव्यक्ति पार्टी नेतृत्वबाट आउनु भनेको महिलाप्रति नकारात्मक दृष्टिकोणको अभिव्यक्ति हो । ‘महिलालाई अपमानित गर्ने व्यवहार नेतृत्वलाई सुहाउने कुरा होइन,’ उनले भनिन् ।

उनले थप भनिन्, ‘एउटा सामान्य महिलालाई त पाइदैन भने पूर्वराष्ट्रपति भएको महिलालाई अपमान गर्न यो नेतृत्वलाई सुहाउँदैन । तर गर्नुहुन्छ कसले भने केपी कमरेडले गर्नुहुन्छ । किनभने उहाँमा सोच नै छैन । महिलाप्रति हेर्न दृष्किोण नै छैन । महिलालाई अपमान गरेको गर्यौ छ ।’
पछिल्ला चार वर्षदेखि एमालेको केन्द्रिय सदस्यको रूपमा निरन्तर सक्रिय रहँदै आएकी उषाकिरण तिमल्सिनाले पार्टीभित्र अभिव्यक्ति तथा सहभागिताको मौलिक अधिकारमाथि प्रश्न उठाएकी छन् ।

उनले केन्द्रिय समितिका बैठकहरु मात्र केही नेताहरुको मनपरी बोल्ने स्थान बनेको गम्भीर आरोप पनि लगाएकी हुन् । उनले भनिन्, ‘म विगत चार वर्ष केन्द्रिय सदस्य हुँदा पार्टीभित्र बोल्न पाएको समय जम्मा ६ मिनेट हो । दुई चोटीको बैठकमा एक पटक तीन मिनेट र अर्को पटक तीन मिनेट ।’

उनले लोकतन्त्र र गणतन्त्रमा पार्टीभित्र बोल्ने ठाँउ नै नहुने भन्दै यसमा परिवर्तन गर्न जरुरी रहेको बताइन् । उनले थप अगाडि भनिन्,‘हामीले ल्याएको लोकतन्त्र, गणतन्त्र त्यो खालको होइन नी । पार्टीभित्र बोल्ने ठाँउ कहाँ छ त ? केन्द्रिय कमिटिको बैठक केही निश्चत नेताहरुको घण्टौ मनपरी बोल्ने ठाँउको रुपमा प्रयोग भएको छ । यसमा परिवर्तन गर्न जरुरी छ ।’

उनका अनुसार अहिले निर्णय गर्ने र नेतृत्व निर्धारण गर्ने अधिकार सिमित मान्छेमा मात्रै केन्द्रित भएका छन् । कार्यक्रममा स्थायी कमिटी सदस्य डा.विन्दा पाण्डे, शर्मिला कार्की, रचना खड्का लगायतका नेतृहरूले आफ्नो धारणा राखे । उनीहरुले महाधिवेशनमार्फत एमालेको नेतृत्व परिवर्तन गर्न र पार्टीलाई लोकतान्त्रिक पद्धतिमा हिँडाउन आग्रह गरे ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ४ : ०० बजे