Logo

विश्व

अन्टार्कटिकाको ओजोन छिद्र २.१ करोड वर्गकिलोमिटरमा सीमित, डिसेम्बर १ मा बन्द




काठमाडौं।अन्टार्कटिकामाथि बनेको ओजोन छिद्र सन् २०२५ डिसेम्बर १ मा बन्द भएको छ। यो सन् २०१९ पछि सबैभन्दा चाँडो बन्द भएको दर्जा गरिएको छ। यस वर्ष ओजोन छिद्रको आकार मात्र सानो नभई यसको गहिराइ पनि कम रहेकाले ओजोन तह क्रमिक रूपमा पुनर्स्थापित हुँदै गएको संकेत प्राप्त भएको वैज्ञानिकहरूले बताएका छन्।

यो वर्ष ओजोन क्षयको प्रक्रिया सामान्य ढाँचानुसार अगस्टको मध्यतिर सुरु भई सेप्टेम्बरको सुरुतिर २.१ करोड वर्गकिलोमिटर क्षेत्रफलसम्म फैलिएको थियो। यो क्षेत्रफल ठूलो मानिए पनि सन् २०२३ मा देखिएको २.६१ करोड वर्गकिलोमिटरको अभूतपूर्व छिद्रभन्दा उल्लेखनीय रूपमा सानो हो। सेप्टेम्बरभर छिद्र डेढदेखि दुई करोड वर्गकिलोमिटरको दायरामा रह्यो र अक्टोबरको अन्त्यसम्म पनि प्रवृत्ति उस्तै देखियो।

नोभेम्बरमा ध्रुवीय चक्रवात कमजोर हुँदै गएपछि छिद्र तीव्र गतिमा संकुचित भयो र अन्ततः डिसेम्बर १ मा बन्द भयो। यस अवधिमा स्ट्र्याटोस्फियरको हावा सामान्य वर्षभन्दा कमजोर रहेकाले बाहिरी क्षेत्रबाट ओजोन–समृद्ध हावा अन्टार्कटिकाको माथिल्लो वायुमण्डलमा प्रवेश गर्न सहज भएको वैज्ञानिकहरूको भनाइ छ।

कपरनिकसको रिपोर्ट र विश्व मौसम विज्ञान संगठन (WMO) को ओजोन बुलेटिन २०२४ ले यस वर्ष ओजोन तहमा तुलनात्मक रूपमा कम क्षति पुगेको पुष्टि गरेका छन्। ओजोन स्तम्भको न्यूनतम स्तर तथा ओजोन मास डेफिसिट दुवै यो वर्ष औसतभन्दा सुधारिएको रेकर्ड भएको छ, जसले छिद्रको गहिराइ कम रहेको संकेत गर्छ।

सामान्यतया अन्टार्कटिकाको ओजोन छिद्र डिसेम्बरमै बन्द हुने गर्छ। नोभेम्बरसम्म बलियो रहने ध्रुवीय चक्रवातले अत्यधिक चिसो वातावरण कायम राख्ने र ओजोन नष्ट गर्ने रासायनिक प्रक्रिया सक्रिय बनाइराख्ने गर्दछ। तर नोभेम्बरको अन्त्यतिर तापक्रम बढ्दै चक्रवात कमजोर भएपछि तातो हावा प्रवेश गर्छ र ओजोन पुनर्निर्माण तीव्र गतिमा अघि बढ्छ। यिनै कारणहरूले यस वर्ष पनि छिद्र डिसेम्बरको सुरुतिर नै बन्द भएको हो।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  १ : ०० बजे