Logo

मुख्य समाचार

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण–१९’ सम्पन्न



काठमाडौं । नेपाल र भारतबीच सञ्चालन भएको संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को १९औँ संस्करण सोमबार (मंसिर २२) सम्पन्न भएको छ। मंसिर ९ गते सुरु गरिएको यो अभ्यास ०६७ सालदेखि दुवै देशमा आलोपालो रूपमा हुँदै आएको छ।

नेपाली सेनाका अनुसार अभ्यासमा विपद् व्यवस्थापन, प्रतिविद्रोह, प्रतिआतंकवाद, जंगल युद्धकला र मानवीय सहयोगसम्बन्धी तालिम समावेश थिए। नेपाली पक्षको पर्यवेक्षक प्रतिनिधिमण्डलको नेतृत्व उपरथी अनुपजंग थापाले गरेका थिए।

सेनाले द्विपक्षीय तथा बहुपक्षीय क्षमता अभिवृद्धिका उद्देश्यले अमेरिका, बेलायत, चीन, पाकिस्तान र भारतलगायत विभिन्न मित्रराष्ट्रसँग नियमित रूपमा सैन्य अभ्यास र पेसागत प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ।

नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा संयुक्त अभ्यासले मित्रराष्ट्रहरूसँग मैत्रीपूर्ण सम्बन्ध सुदृढ गर्न तथा सकलदर्जाको पेसागत सीप र आपसी समझदारी बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  १२ : ४८ बजे