Logo

मुख्य समाचार

अवैध क्रसर उद्योग बन्द : अरुण गाउँपालिका–६ लेगुवाघाटमा सञ्चालन रोक



भोजपुर। भोजपुरको अरुण गाउँपालिका–६ लेगुवाघाटमा अवैध रूपमा सञ्चालन हुँदै आएको क्रसर उद्योग जिल्ला अनुगमन समितिले बन्द गराएको छ। कानुनी प्रक्रिया पूरा नगरी विगत सात वर्षभन्दा बढी समयदेखि सञ्चालनमा रहेको क्रसर उद्योगले नदीजन्य पदार्थ अनधिकृत रूपमा उत्खनन् गर्दै आएको पाइएको थियो।

जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङका अनुसार स्थलगत अनुगमनका क्रममा उद्योगले ढुंगा–गिट्टी–बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन मापदण्ड २०७७ विपरीत गतिविधि सञ्चालन गरेको पुष्टि भएपछि तत्काल रोक लगाइएको हो। उनका अनुसार अन्य क्रसर उद्योगहरूको पनि निरन्तर अनुगमन भइरहेको छ।

प्रावधानअनुसार पक्की पुलबाट ५०० मिटर, सडक मार्ग तथा खोला किनाराबाट २०० मिटर, र हाइटेन्सन लाइनबाट १०० मिटर टाढा क्रसर राख्नुपर्ने हुन्छ। तर लेगुवाघाटस्थित यो क्रसर पक्की पुलदेखि करिब ३०० मिटर उत्तर, अरुण नदी किनाराबाट ६० मिटर दूरीमा र नजिकका बजार क्षेत्र—लेगुवा बजार र राम बजार—देखि करिब ३५० मिटरभित्र रहेको पाइएको समितिले जनाएको छ।

अनुगमनका क्रममा कानुनी मापदण्ड पूरा नगरी सञ्चालन भइरहेको पुष्टि भएपछि आवश्यक प्रक्रिया पूरा नगरेसम्म उद्योग सञ्चालनमा प्रतिबन्ध कायम रहने प्रमुख थुलुङले बताए। उद्योग बन्द गरिएपछि विभिन्न व्यक्ति तथा समूहले पुनः सञ्चालनका लागि दबाब दिइरहेको समितिले जनाएको छ।

मध्यपहाडी राजमार्ग नजिकै अवस्थित सो क्रसर उद्योग विसं २०७२ माघदेखि अवैध रूपमा सञ्चालनमा रहेको खुलासा भएको हो।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  १२ : ३० बजे