काठमाडौं । पूर्वराष्ट्रपति विद्या देवि भण्डारीले चुनावलाई निष्पक्ष, शान्तिपूर्ण, धांधलीरहित र भयरहित वातावरणमा सम्पन्न गर्नको लागि सरकारले वातावरण बनाउनुपर्ने बताएकी छन् ।
सोमबार काठमाडौंमा ‘शी लिड्स आइकन’ ले आयोजना गरेको महिला जनप्रतिनिधिको उत्सव तथा अवार्ड समारोहमा उनले जेनजी पुस्ताले सुशासनको प्रबन्ध र भ्रष्टाचारको निवारणको माग राखि गरेको आन्दोलनपछि मुलुक आज नयाँ राजनीतिक परिवेशमा प्रवेश गरेको भन्दै नयाँ जनादेशका लागि हुन लागेको चुनावलाई भयरहित वातावरणमा सम्पन्न गर्न सबै सक्रिय हुन आवश्यक रहेको बताएकी हुन् ।
उनले भनिन्, ‘केही समय पहिला जेनजी पुस्ताले सुशासनको प्रबन्ध र भ्रष्टाचारको निवारणको माग राखि गरेको आन्दोलनपछि मुलुक आज नयाँ राजनीतिक परिवेशमा प्रवेश गरेको छ । अन्तरिम सरकार गठन भई जनादेशका लागि फागुनमा चुनाव हुन लागेको छ । त्यसकारण चुनावलाई निष्पक्ष, शान्तिपूर्ण, धांधलीरहित र भयरहित वातावरणमा सम्पन्न गर्नको लागि सरकारले वातावरण बनाउनुपर्छ । यसको लागि सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सरोकारवालालाई आफ्नो ठाँउबाट सक्रिय हुन आग्रह गर्दछु ।’
यस्तै, उनले महिलाहरुले जिम्मेवारी अत्यन्त सफलतापूर्वक निर्वाह गर्न सक्ने कुरा नेपालमा उच्च पदमा पुगेका महिलाहरुले प्रमाणित भएको भन्दै महिला जनप्रतिनिधि एक विषयमा मात्र सिमित रहन नहुने बताइन् ।
उनले भनिन्, ‘महिलालाई अवसर दिएपछि उनीहरुले कुनै पनि जिम्मेवारी अत्यन्त सफलतापूर्वक निर्वाह गर्न सक्ने कुरा पनि नेपालमा उच्च पदमा पुगेका महिलाहरुले प्रमाणित गरेका छन् । हाम्रो मूल लक्ष्य भनेको सक्रिय र परिणाममुखि र जनमुखि नेतृत्वको विकास गर्नु हो । महिला जनप्रतिनिधिको भूमिका कुनै एक विषयमा सिमित हुनु हुँदैन।’
नेपालको संविधानले राज्यका सबै तहमा कम्तीमा एक तिहाई महिला सहभागिता सुनिश्चित गरेपछि नेपालको राजनीतिक क्षेत्रमा महिलाको प्रवेश र नेतृत्व विस्तार भएको पनि उनको भनाई छ ।
उनले भनिन्, ‘नेपालको संविधानले राज्यका सबै तहमा कम्तीमा एक तिहाई महिला सहभागिता सुनिश्चित गरेपछि नेपालको राजनीतिक क्षेत्रमा महिलाको प्रवेश र नेतृत्व विस्तार भएको छ । एक समय सामाजिक मान्यता र परम्परागत भूमिकाका कारण घरभित्र सिमित रहन बाध्य नेपाली महिला आज नीति निर्माणको अग्र भूमिमा उभिन सफल भएका छन् ।’










प्रतिक्रिया