Logo

अर्थ

अन्डाको मूल्य हालसम्मकै उच्च, प्रतिक्रेट ५८० रुपैयाँ पुग्यो



चितवन । नेपाल लेयर्स कुखुरापालक संघले मंगलबार (मंसिर २३)देखि लागू हुने गरी अन्डाको नयाँ मूल्य निर्धारण गरेको छ। संघका अनुसार ठूलो (एक्सएल) अन्डाको प्रतिक्रेट (३० गोटा) ५८० रुपैयाँ, ठूलो अन्डा ५६५ रुपैयाँ र मिडियम अन्डा ५५० रुपैयाँ कायम गरिएको छ।

यसअघि गएको साउनमा ठूलो अन्डाको प्रतिक्रेट अधिकतम ५६० रुपैयाँ पुगेको थियो भने क्रमशः घटेर ४०० रुपैयाँसम्म झरेको थियो। संघले यसपटक प्रतिक्रेट २० रुपैयाँले बढाएको हो।

संघका अध्यक्ष विनोद पोखरेलका अनुसार भारतीय अन्डा अवैध रूपमा नेपाल प्रवेश कम भएपछि नेपाली अन्डाले लागत मूल्य पाएको हो। भारतमा निर्वाचनका कारण सीमामा कडाइ र आन्तरिक माग बढ्दा अन्डाको मूल्य बढेको उनले बताए।

संघका सल्लाहकार त्रिलोचन कँडेलका अनुसार भारतमै अन्डाको राम्रो मूल्य भएपछि अवैध रूपमा नेपाल भित्र्याउने प्रयास घटेको छ। उनका अनुसार नेपालमा अन्डाको लागत मूल्य प्रतिगोटा १६.५७ रुपैयाँ पर्छ र हालको मूल्यले किसानलाई नाफा हुने अवस्था बनेको छ।

पोल्ट्री व्यवसायी मञ्चका पूर्वअध्यक्ष राजेन्द्र लामिछानेका अनुसार जाडो मौसममा अन्डाको खपत बढ्ने गर्छ। हाल नेपालमा दैनिक करिब ४० लाख गोटा अन्डा उत्पादन हुने अनुमान गरिएको छ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ३ : २६ बजे